सलमान खानलाई घाइते हुने गरी पिट्नेलाई दुई लाख दिइने घोषणा

२१ जेष्ठ २०७५, सोमबार ०६:५२

जेठ २१, काठमाडौं ।

बलिउड अभिनेता सलमान खान आफ्नो होम प्रोडक्सन फिल्म ‘लवरात्री’ लाई लिएर समस्यामा फसेका छन् । यो फिल्मको नाममा हिन्दूवादीहरुको आपत्ति छ ।

यसअघि विश्व हिन्दू परिषदले यो नाममा आपत्ति जनाएको थियो र फिल्म रिलिज हुन नदिने चेतावनी दिएको थियो । हिन्दूहरुको चाड ‘नवरात्री’ वा ‘शिवरात्री’ लाई होच्याउने खालको नाम भएको परिषदको भनाई छ । तर, अहिले अर्को हिन्दू संगठनले झन् कडा चेतावनी दिएको छ । उसले सलमानलाई कुट्नेलाई दुई लाख ईनाम दिने घोषणा गरेको छ ।

 

‘हिन्दू हि आगे’ नामको संगठनले यस्तो फन्डा गरेको हो । संगठनका प्रमुख गोविन्द परासरले भिडभाडमा सलमान खानलाई घाइते हुने गरी पिट्नेलाई दुई लाख दिइने बताए । तर, सलमान खानलाई पिट्न त्यति सजिलो भने छैन । किनकी उनी भिडभाडमा एक्लै हिँड्दैनन् । सुरक्षा गार्डहरुसहित हिँड्छन् ।

 

हिन्दूवादीहरुको विरोध आएपछि सलमानले लवरात्री नाम परिवर्तन गर्ने मनसाय बनाइसकेका थिए । उनले वैकल्पिन नामको सिफारिस गर्न सबैसँग आग्रह गरेका थिए । तर, अहिलेसम्म नाम परिवर्तन गरिएको छैन ।

यो फिल्मबाट सलमान खानले आफ्ना ज्वाईं आयूष शर्मालाई डेब्यू गराउँदैछन् । पछिल्लो चेतावनीबारे सलमानको धारणा सार्वजनिक भएको छैन । उनी यतिबेला आफ्नो आगामी फिल्म रेस ३ को प्रमोसनमा व्यस्त रहेका छन् ।