गुणस्तरीय सेवा, न्याय दिन्छु भनेर भोट माग्नेहरुले नै दिए पिडितलाई पिँडामाथि पिडा

६ बैशाख २०७५, बिहीबार १०:०२

वैशाख ६, काठमाडौं ।

दिन प्रतिदिन बलात्कारको घट्न बढीरहेका छन् । यस्को निर्मूल गर्न नसकेनी विगतका दिनहरुमा यस्ता घट्नाहरुको संख्या बढीरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पछिल्लो समयमा बलात्कारकै घट्नामा निकै चर्चित घट्ना हो दरबारमार्ग सामूहिक घट्ना प्रकरण जसमा पिडित युवतीलाई उनकै आमाबुबा, प्रहरी र आरोपितहरुले पैसाको चलखेलमा घट्ना गुपचुप बनाउन कोसिस गरेका थिए ।

यस्तै पैसाकै चलखेलमा अर्काे बलातकारको घट्नालाई राजनितिक दबाब र समाजकै अगुवा व्यक्तिहरुले नै गुपचुप पार्न खोजेको अर्काे घट्ना सार्वजनिक भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ ।

यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बाेलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ ।

११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार

ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रंग दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएको बेला सुन्दरहरैंचाका वडाअध्यक्षले यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् । अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’

घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि वडा अध्यक्ष चैतन्य सिटौला बाहिर भएको बताएपछि भोलिपल्ट घटनाको विषयमा छलफल गर्ने भनिएको थियो । तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितकी आमाले घटनाबारे सुन्दरहरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएकी थिइन्।

पैसामा मिलापत्र गराउने प्रयास

समाजका भद्रभलादमी भनिने स्थानीय केही व्यक्तिहरुले समेत मिलापत्र गर्न दबाव दिएको आरोप बालिकाका बुवाले लगाए ।

उनले भने, ‘एकचोटी गल्ती भयो माफ पाऊँ भनेको छ । अबदेखि यस्तो गल्ती गर्दिनँ भनेकाले मिलौं भनेर स्थानीय केही व्यक्तिहरुले भनेका छन् । तर म छाड्दिनँ, कानुनीरुपमा अघि बढिसकेको छु ।’