सर्वशास्त्रको एउटै मतः आमा नभएको घर उजाड जंगल जस्तो

२३ फाल्गुन २०७६, शुक्रबार १५:१०

आमाको सर्वोच्चताको विषयमा धेरै चर्चाहरु हुन्छन् । शास्त्रलाई उद्धृत गर्दै आमाको विषयमा धेरै चर्चाहरु चल्ने गर्छन् । दर्शन, विज्ञान, धर्मदेखि पूर्ण रुपमा भौतिकवादमा विश्वास गर्ने व्यक्तिहरुसम्मले स्वीकारेको कुरा हो आमाको सर्वोच्चता ।

भौतिकवादको पूरा विरोध गर्ने वेदान्तले समेत प्रकृतिको रुपमा आमाको महत्वलाई प्रस्तुत गरेको छ । सांख्य दर्शनले त झनै प्रकृति नै सृष्टिको मुख्य कारकको रुपमा व्याख्या गर्ने गर्छ । कुनैपनि घर आमाको अभावमा घर बन्न सक्दैन ।

यो एउटा उजाड मरुभूमि जस्तो बन्छ भन्ने यथार्थ सर्वशास्त्रको निचोडको रुपमा देख्न सकिन्छ । यद्यपि चाणक्य दर्शनले भने यो विषयमा स्पष्ट नै आमा बिनाको घरलाई जंगलको संज्ञा नै दिएको छ । आमाको महत्वको बारेमा चाणक्य नीति भन्छ स्

माता यस्य गृहे नास्ति भार्या चाप्रियवादिनी ।

अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।।५।।

अर्थात्, जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमतीको बोली रुखो र छुच्चो स्वभाव हुन्छ । त्यो घर नभएर जंगल समान हुन्छ । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।

आमा केवल भौतिक शरीर मात्रै नभएर यो एउटा स्नेहवाची शब्द पनि हो । जहाँ आमाको स्नेह हुन्छ वा आमाको शुभ दृष्टि परेको हुन्छ । त्यो घर आफैंमा सुवर्णले सुसज्जित घर जस्तै उज्यालो हुन्छ भन्ने धेरै शास्त्रहरुमा उल्लेख पाइन्छ ।

पूर्वीय साहित्यहरु वेद, पुराण, दर्शन, संस्मरण, महाकाव्य, उपनिषद आदि सबै आमाको विशाल महिमाले भरिएका छन्। असंख्य ऋषि, सन्यासी, पण्डित, महात्मा, विद्वान, दार्शनिक, साहित्यकार र कलाकारहरूले पनि आमाप्रतिको भावनालाई चुलीमा पुर्याउन हर प्रयास गरेको देखिन्छ ।

यी सबैको बाबजुद पनि, कुनै पनि शब्द आमा शब्दको समग्र परिभाषा र यसको असीम महिमालाई शब्दमा व्यक्त गर्ने गरिएको छैन । हामी नेपाललाई आमा भन्छौं, गाईलाई आमा भन्छौं । जोसँग हामी आश्रित छौं या जो बिना हामी बाँच्न सक्दैनौं त्यो समूहवाची शब्द नै आमा हो । जसरी आस्तिक दर्शनले संसारको सबै चराचर जगतमा ब्रह्म रहेको उल्लेख गर्छ ।

त्यस्तै, हरेक स्नेह, प्रेम र सफलतामा आमाको तिरोहित (घेरिएको) भएर रहेको मान्ने गरिन्छ । समग्रमा आमा केवल आमा मात्रै नभएर सिंगो समूहवाची शब्द हो । त्यसैको एउटा मूर्त एवं सजीव चित्रण हुन् जन्म दिने आमा । यो शास्त्रको मत हो ।

वेदहरुमा आमालाई अम्बा, अम्बिका, दुर्गा, देवी, सरस्वती, शक्ति, ज्योति, पृथ्वी इत्यादि शब्दद्वारा सम्बोधन गरिएको छ । यस बाहेक आमालाई माता, मातु, आमा, अम्मा, अम्मी, जननी, जनमात्री, जीवनदायिनी, जनयात्री, धत्री, प्रसु आदि शब्दले समेत चिन्ने गरिन्छ ।

ऋग्वेदमा आमाको महिमाबारे भनिएको छ, ‘हे उषाकी समान आमा १ हामीलाई महान मार्ग अनुसरण गर्न प्रेरित गर्नुहोस् । तपाईंले हामीलाई नियमप्रेमी बनाउनुहुन्छ । हामीलाई महिमा र महान उदारता दिनुहोस् ।’

त्यस्तै, सामवेदमा भनिएको छ, ‘हे जिज्ञासु छोरा आमाको आदेशहरू पालन गरेर आमालाई कष्ट नदेऊ। आफ्नी आमालाई आफूसँगै राख । दिमाग शुद्ध पार र आचरणको ज्योति उज्यालो पार ।’

श्रीमद्भागवत पुराणमा भनिएको छ ‘आमाको सेवाबाट प्राप्त आशीषले सात जन्मको कष्ट र पापलाई पनि हटाउँछ । उनको भावनात्मक शक्तिले बच्चाहरूको सुरक्षा कवचको काम गर्छ।’ यसका साथ श्रीमद्भागवतमा भनिएको छ कि आमा बच्चाको पहिलो गुरु हुन् ।’ महाभारतमा जब यक्षले धर्मराज युधिष्ठिरलाई सोध्छन्, भूमिभन्दा भारी के छ ? युधिष्ठिर उत्तर दिन्छन्ः

माता गुरुतारा भुमेरू

अर्थात्, आमा यस भूमिभन्दा पनि भारी हुनुहुन्छ ।

साथै, महाकाव्य महाभारतका लेखक महर्षि वेदव्यासले आमाको बारेमा लेखेका छन्।

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिस्।

नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।

अर्थात्, आमा जस्तो छाया कतैपनि छैन, आमाको जस्तो साहारा कतै छैन । त्यहाँ आमा समान रक्षक अरु कोही पनि छैन र समग्रमा आमा जस्तो प्रिय चीज नै केही छैन ।

यही भावलाई पुष्टि गर्दै तैत्तेरीय उपनिषद् लेख्छः

मातृ देवो भवः

अर्थात्, आमा ईश्वर समान हुनुहुन्छ । (अनलाइनखबरबाट साभार )