सरकार संघीयता संस्थागत गर्न चाहँदैनः प्रकाशमान

४ मंसिर २०७५, मंगलवार १२:२३

प्यूठान । सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनले बताएका हुन् ।

मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनले गुनासो गरे । स्थायी सरकारको दाबी गर्ने सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले जनता सडकमा उत्रनु परेको उनले बताए ।

समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको उनको आरोप थियो । ‘कुरा मात्र ठूला गर्ने,’ उनले भने, ‘विकास बजेट ८ प्रतिशत पनि खर्च हुन सकेको छैन ।’तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उनको निष्कर्ष थियो ।