सरकार असफल भयोः कमल थापा

२० माघ २०७५, आईतवार १४:२०

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल भएको दावी गर्नु भएको छ ।आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उहाँले सरकार कार्यक्षमतामा कमजोर रहेको बताउनु भएको हो ।


यो सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन सकेको छैन’ उहाँलेु राजनीतिक प्रतिवेदनमा भन्न भएको छ , ‘एकाध अपवादलाई छोडने हो भने सरकार प्रायः सबैक्षेत्रमा असफल प्रमाणित भएको छ ।’अपरिपक्व र असन्तुलित परराष्ट्र नीतिको सञ्चालनले थप जटिलता सिर्जना गरिरहेको छ । भेनेजुयलाको घटनाक्रमबारे नेपालको बक्तव्य प्रकरण यसको पछिल्लो उदाहरण हो’ थापाले भन्नु भएको छ ।

वाइडबडी खरिद, एनसेलको करछली, ३३ किलो सुन काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने लगायतका घटनाले देशमा लुटतन्त्र चलेको प्रमाणित भएको भन्दै उहाँले गैरकानूनी सम्पत्ति आर्जन र अर्बौ घोटालाका घटनामा राजनीतिक संरक्षण रहेको आरोप समेत लगाउनु भएको छ ।थापाले विखण्डनकारी शक्तिबाट निकट भविष्यमा नै राजनीतिक अस्थिरता र अराजकताको अर्को श्रृङ्खला शुरु हुने संकेत देखिएको जिकिरसमेत गर्नु भएको छ ।

‘बिखण्डनकारी शक्ति अहिले आफ्नो प्रभाव र संगठन बिस्तारमा लागेको छ । यस समुहले उपयुक्त समय हेरेर तराईका विभिन्न जिल्लाहरुमा अराजकता खडा गर्न सक्दछ ।’विप्लव नेतृत्वको माओवादीले विभिन्न जिल्लाहरुमा गतिविधि तिव्र पारिरहेको भन्दै यसले शक्ति सञ्चय गरेर ठूलै वितण्डा मच्चाउने तयारी गरेको पनि थापाले बताउनु भएको छ ।त्यस्तै पार्टीले हाल सञ्चालन गरेको हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानलाई निरन्तरता दिने र मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा दुई चरणमा गरी देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने पनि उल्लेख गर्नु भएको छ ।