सरकार अराजक हुँदै गएकोमा दुई मत छैनः कोइराला

२९ भाद्र २०७५, शुक्रबार १७:५७

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार संघीयता विरोधी भएको आरोप लगाएका छन्। उनले वर्तमान सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर उन्मुख भएको पनि आरोप लगाए।

वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका र आगामी चुनौती विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले देश अराजकतातर्फ गइरहेको बताए। लोकतन्त्र र संघीयता भएका देशमा प्रधानमन्त्रीले प्रदेशसभामा भाषण गर्ने परम्परा कहीं नभएको दाबी गरे। ‘संघीयतालाई असफलता गराउन कतै सरकारले नै कर आतंक सिर्जना गरेको त छैन ?’, सरकारप्रति शंका व्यक्त गर्दै उनले प्रश्न गरे।

कोइरालाले वर्तमान सरकारले लोकतन्त्रका आधारभुत सिद्धान्तहरु मिच्दै गएको ठोकुवा गरे। उनले भने, ‘दुई तिहाइको सरकारलाई कानुन, राज्य मै हुँ भन्ने परेको छ। सरकार जे बोल्यो त्यही कानुन हुन्छ भन्ने सरकारको दम्भ छ।’

कम्युनिष्ट स्कुलिङबाट आएको सरकार जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताउँदै कोइरालाले प्रधानमन्त्रीलाई ‘शक्तिको भोको’को संज्ञा दिए। राष्ट्रिय अनुसन्धान, सम्पत्ति सुद्धिकरण विभाग र एनजिओे आइएनजिओ अनुगमन प्रधानमन्त्री मातहत हुनु प्रधानमन्त्रीमा शक्तिको भोक जागेर भएको आरोप लगाए।

३३ किलो सुन काण्डका मुख्य दोषी पत्ता नलगाई साम्य पारिएको उनको भनाइ थियो। सरकार अराजक हुँदै गएकोमा दुई मत नभएको बताउँदै उनले भने, ‘प्रेस स्वतन्त्रता छँदै छैन।’