सरकारी विभागका कर्मचारी र म्यानपावरवालाबीच भाँडभैलो

१५ चैत्र २०७४, बिहीबार ०७:५१

चैत १५, काठमाडौं ।

बुधबार मध्यान्ह १२ बजे श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको सचिवालयमा अपरिचित व्यक्तिको फोन आयो- ‘सुकेधाराको एउटा म्यानपावर कम्पनीमा पूर्वअनुमति नलिई विदेश पठाउने कामदारको अन्तरवार्ता भइरहेको छ ।’

म्यानपावर कम्पनीले पूर्वस्वीकृति लिएर मात्रै कामदार छनोट गर्न पाउने भन्दै सरकारले कडाइ गरिरहेकै बेला मन्त्रीको सचिवालयमा सूचनावाहकले यस्तो खबर टिपाएका थिए ।

सूचना दिने विशेष सुत्रले भनेको थियो, ‘अलसाहिद म्यानपावर कम्पनीले कामदार ठग्न मंगलबार पनि इटहरीमा यसरी नै इन्टरभ्यु लिएको थियो । सरकारले यसबारे ध्यान दिनुपर्‍यो ।’

तत्कालै मन्त्रीको सचिवालयले वैदेशिक रोजगार विभागमा फोन गरेर सो म्यानपावर कम्पनीको विवरण माग्यो । विभागबाट जानकारी आयो कि अलसाहिद म्यानपावर कम्पनीले गत फेब्रुअरीमा युएईमा कामदार लैजानका लागि मात्र पूर्वश्रम स्वीकृति लिएको रहेछ ।

मन्त्रीको सचिवालयले विभागलाई तत्कालै अनुगमनमा गएर इन्टरभ्यु लिने काममा हस्तक्षेप गर्न निर्देशन दियो ।

दिउँसो १२ बजे जानकारी पाएको विभागको टोली अपरान्ह ३ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा पुग्यो ।

त्यहाँ पुग्दा धमाधम इन्टरभ्यु चलिरहेको थियो ।

विभागको गाडी रोकिनासाथ वरपर खटिएका म्यानपावरका सञ्चालकहरुको अनुहारमा रंग उड्यो । सबै तितर-बितर भए । केही फोन लगाउँदै गेट वरपर घुम्न थाले ।

अन्तरवार्ताका लागि फारम बाँडिरहेको स्थानमा पुगेर विभागका अधिकृत टंकप्रसाद चौलागाई नेतृत्वको टोलीले सोधखोज गर्‍यो । टोलीले पूर्वश्रमस्वीकृति र अन्तरवार्ता लिने स्वीकृतिको कागजात म्यानपावर सञ्चालकसँग माग्यो ।

म्यानपावरका म्यानेजरले आफ्नो सञ्चालक बाहिर निस्किएको भन्दै विभागलाई कुनै सूचना दिन मानेनन् ।

विभागको टोलीले पटक-पटक आफूलाई सबै कागजातहरु देखाएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्‍यो । तर, म्यानपावरका कर्मचारीले टेरपुच्छर लगाएनन् ।

विभागका अधिकृत आचार्यले म्यानपावर सञ्चालकलाई फोन गरेरै अन्तरवार्तास्थलमा तत्काल उपस्थित हुन अनुरोध गरे । तर, सञ्चालकले आफू अहिले आउन नसक्ने बताउँदै फोन काटिदिए ।

त्यसपछि विभागको टोलीले अन्तरवार्तामा हस्तक्षेप गर्ने भन्दै अन्तिम चेतावनी दियो । ‘तपाईहरुले हामीलाई सहयोग गर्नुभएन, हामी तपाईंका सबै कागजात जफत गरेर अन्तरवार्ता रोक्न बाध्य हुन्छौं,’ अनुगमन टोलीका एक सदस्यले म्यानपावर कर्मचारीलाई भने ।

यस्तो चेतावनीपछि म्यानपावरका म्यानेजरले गल्ती स्वीकारे । उनले युएईका लागि स्वीकृति लिएर ८५ जना कामदार साउदी लैजाने गरी अन्तरवार्ता लिन लागिएको स्वीकार गरे ।

यति घटना भइसक्दा विदेश जान पाइने आशमा अन्तरवार्ताका लागि लाइनमा बसेका कामदारहरु भने रनभुल्लमा परेका थिए । अन्तरवार्ता लिनेहरु पनि उठेर हिँडिसकेका थिए ।

यसक्रममा एउटा कार पार्टी प्यालेसभित्र प्रवेश गर्‍यो । म्यानपावर सञ्चालकले गल्ती स्वीकार गरिसकेकाको अवस्थामा बाटैमा बनेको नयाँ डिजाइन लिएर एकजना नीलोकोटधारी कारबाट अोर्लिए । ती ‘भलाद्मी’ उत्रानासाथ एकाएक विभागको अनुगमन टोलीमाथि खनिए ।

नीलो कोट लगाएका उनले अन्तरवार्ता अलसाहिद म्यानपावरले नभई आफ्नो -बि्रज स्काइ) म्यानपावरले लिइरहेको दाबी गरे ।

‘तपाईंहरु ठूलो कुरा नगर्नुस्, यहाँ अलसाहिदले अन्तरवार्ता लिएकै छैन,’ उनले एउटा चिठ्ठी देखाउँदै भने, ‘हामीले अनुमति लिएर अन्तरवार्ता लिएका हौं ।’

उनले वैदेशिक रोजगार विभागबाट अन्तरवार्ताका लागि लिएको अनुमतिपत्र देखाए ।

तर, ती ‘भलाद्मी’को कुरा बाझियो । किनभने अन्तरवार्तास्थलमा अधिकांश कामदारलाई बि्रज स्काईको नभएर अलसहिदको र्फम बाँडिएको थियो । लाइनमा बसेका एकजना कामदारसँग मात्रै बि्रज स्काइको र्फम भेटियो ।

त्यसपछि विभागले तत्कालै अलसाहिदको सबै कारोबार रोक्ने भन्दै अन्तरवार्ता लिनुको कुनै अर्थ नहुने सुनायो ।

त्यसलगत्तै प्रमाणका लागि अन्तरवार्तामा प्रयोग भएका फारम जफत गर्न विभागको टोली अघि बढ्यो । तर, म्यानपावरका कर्मचारीले सबै कागजात लुकाए ।

‘अघिका फारमहरु हामीलाई चाहियो’ भन्दै विभागका कर्मचारीले म्यानपावरका कर्मचारीलाई सहयोगका लागि पटक-पटक आग्रह गरे ।

उनीहरुले अटेर गरेपछि टोलीका एक सदस्यले म्यानपावरको ल्यापटप उठाए । विभागले अलसहिदको ल्यापटप उठाएपछि ब्रिज स्काइका सञ्चालक फेरि जंगिँदै कर्मचारीमाथि खनिए ।

‘यो ल्यापटप ब्रिज स्काइको हो । धेरै फूर्ति नदेखाए हुन्छ, हामीले पनि के गर्नुपर्छ जानेका छौं,’ ती सञ्चालकले रीस देखाउँदै भने, ‘कोही आए/गए होलान्, हामीलाई के मतलब ? हामीले दुई सयजनाको अन्तरवार्ता लिन पाउँछौं ।’

उनी झगडा गर्ने सुरमा देखिए पनि विभागको टोलीले संयमता देखायो । विभागले लाइनमा बसेका युवासँगै अलसहिदको फारम लियो र प्रमाणहरु जुटायो ।

म्यानपावर सञ्चालकको दादागिरी त्यति गर्दा पनि रोकिएन । अलसाहिदका नाममा लिएको अन्तरवार्ता विवादमा परेपछि कामदारलाई बोलाएर फेरि बि्रज स्काइको नाममा फारम बाँड्न सुरु भयो ।

विभागले त्यसो नगर्न चेतावनी दिँदै गर्दा नीलो कोटमा ठाँटिएका म्यानपावर सञ्चालकले यस्तो अनुगमनले आफूहरुलाई कुनै फरक नपर्ने भन्दै र्फम बाँडेर अन्तरवार्ता लिन कर्मचारीलाई निर्देशन दिए ।

हिँड्ने बेलासम्म पनि उनले विभागका कमचारीलाई हप्काइरहेका थिए ।

केही गरी अन्तरवार्ता रोक्न नसकेपछि विभागको टोलीले दुई म्यानपावरविरुद्ध अनुसन्धान सुरु गर्ने निश्कर्ष निकाल्यो र त्यहाँबाट रित्तै फर्कियो ।

अनुगमन सकेर सिंहदरबार फर्किँदै गर्दा अनुगमन टोलीका सदस्यहरुबीच गाडीभित्रै कुराकानी चल्यो । ‘एकछिन त्यहाँ बसेको भए हामीलाई गुण्डा लगाएरै घेर्थे होला, कहाँबाट कुन नेताको फोन पनि आउँथ्यो कि ?’

एक कर्मचारीले थपे- ‘नेताहरुले यिनलाई संरक्षण नगर्ने हो भने हामी यस्ता दादागिरी गर्नेलाई कानुन प्रयोग गरेरै तह लाउन सकिहाल्थ्यौं नि !’