सरकारले सन् २०५० सम्ममा ५० प्रतिशत विद्युतीय बस सञ्चालन गर्ने

७ कार्तिक २०७५, बुधबार ०८:३८

विद्युतीय सवारी साधनले वातावरण संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सन् २०५० भित्र ५० प्रतिशत विद्युतीय बस सञ्चालन गर्न लागेको हो। सरकारले मंगलबार सार्वजनिक गरेको विद्युतीय यातायात राष्ट्रिय कार्ययोजनामा सो विषय समेटिएको हो।

मुलुकमा वातावरण प्रदूषण बढ्दै गएको र इन्धनबाट सवारी साधन सञ्चालन गर्न बढी खर्चिलो हुने भएकाले सरकारले विद्युतीय सवारी साधनलाई भित्याएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिएको बिजुली बसको शुभारम्भ गर्दै नेपालमा विद्युतीय बसको संख्या बढाउँदै लैजाने बताउदै। ‘यस्ता बसलाई बढाउँदै लग्ने र पेट्रोलियम पदार्थको खपत कम गर्ने योजना कार्यान्वयन गर्ने तयारीमा रहेको छ।
बिजुली बसले वातावरणसँगै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यससम्बन्धी कार्ययोजना तयार गरिएको जानकारी दिए। प्रम ओलीले नेपालमा बिजुली उत्पादनलाई बढाउँदै लैजाने उल्लेख गर्दै बिजुली उत्पादनसँगै देशैभर बिजुली बस सञ्चालन गर्ने तयारी भइरहेको बताए।

कार्ययोजनामा सन् २०४० सम्ममा पब्लिक कम्युनिटीको सहयोगमा हाइड्रो पावर रेल सञ्चालन गर्ने उल्लेख गरिएको छ। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा करिब सयवटा बिजुली बस आवश्यक रहेको बताए। स्थानीय तह र विभिन्न सरोकारवाला निकायको सहयोगमा उपत्यकाका सडकमा विद्युतीय बस सञ्चालन गर्न सकिने दाबी गर्नुभयो।

करिब २ करोड रुपियाँ पर्ने ती बस एक्लैले सञ्चालन गर्न सकिँदैन, सरकार र अन्य निकायको सहयोग आवश्यक छ। साझाले बिजुली बस सञ्चालन गरेलगत्तै सुन्दर यातायातले पनि राजधानीमा १३ वटा बिजुली बस सञ्चालन गर्ने भएको छ।मयूर यातायातले पनि बिजुली बस भित्याउने तयारी गरेको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले स्वच्छ ऊर्जा तान्न सरकारले बिजुली बस सञ्चालन गरेको बताउनुभयो। सरकारको नयाँ योजनाअनुसार नै पहिलो चरणमा राजधानीमा बिजुली बस सञ्चालन गरेको अधिकारीको भनाइ थियो।