सरकारले ब्यहोर्ने भो राष्ट्रकवि घिमिरेको उपचार खर्च

८ जेष्ठ २०७५, मंगलवार ०८:०२

जेठ ८, काठमाडौं ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत छन् ।


राससका अनुसार, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत घिमिरेलाई सोमबार भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेर समेत उनको उपचार गराउने प्रतिबद्वता जनाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि घिमिरेलाई अहिले हाई केयर युनिटमा राखेर उपचार गरिएको छ ।

९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएपछि विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आएको थियो ।