सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

२६ चैत्र २०७५, मंगलवार १४:२८

काठमाडौं , सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुयाउन गरिव नागरिकलाई पनि एक लाख रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नु भएको हो । नेपाल आँखा अस्पतालको ४५ औं बार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिएको जानकारी दिनु भयो । यसअघि सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाख रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको थियो ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको स्पष्ट पार्नु भयो । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुयाउन सरकार लागि परेको खतिवडाको भनाई छ ।