सरकारले खारेज गरेका मलेसियाली संस्था ब्युँताउने खेलमा

४ मंसिर २०७५, मंगलवार ०८:२६

काठमाडौं

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको भन्दै केही समयअघि सरकारले खारेज गरेका भीएलएनलगायतका स्वास्थ्य परीक्षण संस्था ब्युँताउने खेलमा बिचौलिया लागी परेको खुलासा भएको छ।

सरकारीस्तमै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकार र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएपछि मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्ने गरी देश तथा विदेशका विभिन्न निजी संस्थाले चलखेल गरिरहेको पाइएको छ।

मलेसियामा विदेशी कामदार आपूर्ति गर्ने संस्था वार्सिन समूहका निर्देशक याङ अबुल कासिमले नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ‘फोमेमा’ नामक संस्थाबाट गराउन केही व्यवसायीसँग भेटघाट गरेको खुलासा भएको छ। कासिमका साथमा मलेसिया बस्ने बंगलादेशी र केही मलेसियाली नागरिकसमेत आएको बताइएको छ।

मलेसियाले नेपालमा ‘फोमेमा’ खोल्नका लागि आफ्नो कम्पनीलाई अधिकार दिएको भन्दै कासिमले म्यानपावर सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका केही मेडिकल व्यवसायीसँग संस्था खोल्न छलफल गरी कागजात संकलन गरेको पाइएको छ।

कामदारमाथि आर्थिक भार थप्ने मलेसियादेखि नेपालसम्मका बिचौलियाले सक्रिय भएर ठूलो चलखेल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । कात्तिक २९ गतेदेखि काठमाडौंको हयात होटलमा बसेर कासिमले ‘फोमेमा’को जिम्मेवारी दिने भन्दै व्यवसायीलाई आश्वसान बाँडिरहेको तथ्य खुलासा भएपछि  पक्राउ पर्ने डरले उनी तत्काल मलेसिया फर्किएको एक मेडिकल व्यवसायीले बताए। कासिमलाई बंगलादेशी नागरिक हनिफले सहयोग गरेको जनाइएको छ। हनिफ यसअघि पनि ठगी मुद्दामा नेपाल प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन्।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपालकै निजी तथा सरकारी अस्पतालबाट गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए।‘श्रम मन्त्रालय वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिन्डिकेट हटाउन लागी परेर काम गरिहेको छ। फेरि रोजगारीमा जाने कामदारमाथि एकाधिकार जमाउने खालको सिन्डिकेट मान्य हुँदैन। कुनै संस्थाले चलखेल गरेको थाहा पाएमा तुरुन्तै कारबाही हुन्छ,’ उनले भने।

श्रम समझदारीमा उल्लेख भएका विषय नेपाली र मलेसियाली पक्षले सार्वजनिक गरेका छैनन्। तर भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स हटाएर सेक्युरिटी स्क्रिनिङ र बायोमेट्रिक मेडिकलका ठाँउमा मेडिकल एक्जामिनेसन’ राख्ने विषय मलेसियाका प्रविधिक कमिटीका सदस्यले गरेका थिए। उक्त प्रस्ताव नेपालका प्रतिनिधिले अस्वीकार गरेको बताइएको छ।त्यसको विकल्पमा ग्लोबल टेन्डर गररे नयाँ कम्पनी छान्ने प्रस्ताव मलेसियाले गरेको भएपनि नेपालले असहमति जनाएको थियो।

श्रम सम्झौता भएको एक महिनासम्म पनि मलेसियाको रोजगारी खुल्ने विषयमा दुवै देशबाट आधिकारिक निर्णय नआएपछि मलेसियाली श्रम बजारप्रति आशंका उत्पन्न हुन थालेको छ।

मलेसियासँग भएका सम्झौताका मुख्य विषय सावजानिक नभएकाले त्यहाँको रोजगारी कहिले खुल्छ भने एकिन छैन। तर, श्रम मन्त्रालयले भने मंसिर दोस्रो साताबाट मलेसियाको रोजगारी खुल्ने बताउँदै आएको छ। मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थप्ने उद्देश्यका संस्था खोल्न नदिने बताउँदै आएको छ।