सरकारले कुनै पनि खालको ठोस कदम चाल्न सकेनः राणा

११ आश्विन २०७६, शनिबार १६:५७

काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै धार्मिक यात्रा गर्ने घोषणा गर्नु भएको छ ।

दशैँ, तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको सो अभियानमा सबैलाई सहयोग, सद्भावना र सहभागिताका लागि पनि आग्रह गर्नु भयो ।
अध्यक्ष राणाले मुलुकको राजनीतिक परिदृष्य निराशाजनक रहेको तथा आर्थिक परिसूचकहरु कहाली लाग्दो रहेको उल्लेख गर्दै त्यसबाट मुलुकलाई मुक्त गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नु भयो ।

अध्यक्ष राणाले मुलुक र जनताको उन्नति र विकासका लागि सरकारले कुनै पनि खालको ठोस कदम चाल्न नसकेको बताउनु भयो ।