सरकारले कसैलाई पनि काखी च्याप्नु हुँदैन्ः रघुजी पन्त

७ पुष २०७६, सोमबार १६:३७

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले हालै सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहिनता तोड्ने काम गरेको स्पष्ट पार्नु भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले बैठकले पार्टीभित्र झाँग्गिँदै गएको गुटको समस्यापनि समाधान गर्न फलदायी बनेको टिप्पणी गर्नु भयो ।
साक्षात्कारमा बोल्दै उहाँले स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्विकारेको र यस सम्बन्धमा आत्माआलोचना गरेको बताउनु भयो ।

पन्तले यति समूहलाई सरकारले काखी च्यापेको बारेमा सोधिएको प्रश्नमा यसको जवाफ सरकारले नै दिने बताउनु भयो । यद्धपी उहाँले सरकार कुनैपनि विवादमा फस्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो ,‘सरकारले कसैलाई पनि काखी च्याप्नुहुँदैन् । भ्रष्टाचारजन्य गन्ध आउनुहुँदैन् ।’

पन्तले सरकारले भारतसँगको सीमा विवाद कुटनीतिक रुपमा चाँडोभन्दा चाँडो हल गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो ,‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमीबारे सरकारले अहिले लिएको स्ट्याण्ड ठीक छ । सीमा विवाद पूरानो हो । अब यो विवादलाई यथाशक्य चाँडो हल गर्नुपर्छ । सरकारलाई व्यापक राम्रो जनसमर्थन छ । यही बेलामा पहलकदमी लिनुपर्छ ।’

स्थायी कमिटीको बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमी भएकोले त्यहाँबाट भारतीय सेना फिर्ता गर्नुपर्ने, भारतले हालै प्रकाशित गरेको आन्तरिक नक्शा नमान्ने र सीमा विवाद समाधानको लागि कुटनीतिक पहल गर्ने तीन वटा प्रस्ताव नै पारित गरेको पन्तले टिप्पणी गर्नु भयो । पन्तले नेपाल–भारतबीच खुल्ला सीमा रहेकोले सीमा विवाद भएको बताउनु भयो ।

नेपाल र भारतबीचको खुल्ला सीमालाई विस्तारै विस्तारै व्यवस्थित् गर्नुपर्नेमा पन्तले जोड दिनु भयो । उहाँले भन्नु भयो ,‘विस्तारै विस्तारे पासपोर्ट लागु गर्नुपर्छ । खुल्ला सीमाना भएकोले अहिले नेपालमा भुटानी शरणार्थीदेखि रोहिंग्याहरुको ठूलो संख्यामा प्रवेश भएको छ ।’ खुल्ला सिमानाको दुरुपयोग गरेर भारतबाट अवाञ्छित तत्व नेपाल छिर्ने खतरा रहेको पनि उहाँले टिप्पणी गर्नु भयो ।