सरकारको चौध महिना सम्मको कार्यकाल असफल भयोः रमेश लेखक

८ बैशाख २०७६, आईतवार १०:०४

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गर्नु भएको छ । उहाँले भन्नु भयो, “यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन । यो सरकार काम गर्न भन्दा पनि गफ र भाषणमा धेरै सफल भएको छ यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन ।”

नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गर्नु भयो । उहाँले भन्नु भयो , “अपराध न्यूनिकरण गर्ने र अमनचयन कायम गर्न सरकार असफल भयो ।”
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नु भयो, “एकपछि अर्को आयोग बनाउने काम गर्यो, तर आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।” विकास निर्माणको सवालमा पनि सरकार असफल भएको उहाँको आरोप छ ।