‘सम्मानजनक शक्ति बाँडफाँट गर्न तयार’

४ पुष २०७४, मंगलवार ०५:५९

पुस ४, काठमाडौं । नेकपा एमालेले–माओवादी केन्द्रसंग सम्मानजनक रुपमा शक्ति बाँडफाँट गरेर पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ।

माओवादी केन्द्रको सोमवारको बैठकले सरकार गठनसंगै एकता र पद बाँडफाँटको खाका तयार गर्नुपर्ने निर्णय गरेको सन्दर्भमा एमालेका एक नेताले त्यस्तो प्रतिक्रिया दिएका हुन्।  माओवादी केन्द्रले पार्टीको नीतिसंगै नेतृत्वबारे पनि छिनोफानो हुनुपर्ने शर्त अघि सारेको छ।  निर्वाचन सकिए लगत्तै पार्टी एकीकरण अगाडि बढाउने बताउँदै आएका एमाले र माओवादी केन्द्रबीच त्यो प्रक्रिया ठोस रुपमा अघि बढेको देखिएको छैन।   एमाले नेताहरुले सरकार गठनमा जोड दिइरहेको बेला माओवादीले पार्टी एकतालाई उत्तिकै प्राथमिकता दिनुपर्ने प्रस्ताव राखेको छ।   एमालेकै एकजना वरिष्ठ नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए।  तर निर्वाचनपछि बसेको माओवादी केन्द्रिय कार्यालयको पहिलो बैठकले सोमवार विभिन्न पदहरुको बाँडफाँटको खाका तयार हुनुपर्ने निर्णय गरेको माओवादी नेता अग्नि सापकोटाले बताए।

 

उनले भने, ‘कार्यकारी पदहरु छन्, ती पदहरुमा सम्मानजनक स्थिति निर्माण हुनुपर्‍यो। यो पार्टी एकता हो। कुनै पार्टी अर्को पार्टीमा मिसिने होइन। पार्टी एकता भएपछि त्यहाँ दुवै पक्ष जित्ने अवस्था हुनुपर्छ।’ भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले सत्ता सम्हाल्दा पार्टीको नेतृत्वदायी भूमिका भने प्रचण्डलाई दिइनुपर्ने कतिपय माओवादी नेताहरुले बताउने गरेका छन्।  माओवादीले त्यसको सुनिश्चितता खोजे जस्तो देखिन्छ।   त्यससंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख अनि प्रदेशका सरकार प्रमुख जस्ता पद पनि छन्।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ’नेतृत्व कसरी बनाउने, प्रधानमन्त्री, पार्टी अध्यक्ष कसलाई बनाउने या संगठनात्मक ढाँचा कस्तो हुने, पार्टीमा कुन कुन पद कसरी राख्ने भन्ने जस्ता कुराहरु हामी आफ्नो कमिटीमा छलफल गर्छौं। अनि दुई पार्टी बीचको समन्वय कमिटीमा पनि गृहकार्य गरेर समाधान गर्नेछौं।’   गठबन्धन बनाएर निर्वाचनमा बहुमत ल्याएका यी दुई दलले एकतालाई निष्कर्षमा पुर्‍याउने बताउँदै आएका छन्।  तर शक्ति बाँडफाँट र राजनीतिक विचारधारामा एकरुपता ल्याउनु चुनौतीपूर्ण हुने कतिपयको आंकलन छ।