समाजवादको अभ्यासमा आधारशिला

२८ माघ २०७६, मंगलवार ११:३७

महोत्तरी, एउटै परिवारमा सामूहिक रूपमा बस्न नसकिरहेको यस युगमा विभिन्न समुदाय, विभिन जात र विभिन्न ठाउँका व्यक्ति एकै ठाउँमा वर्षौंदेखि बस्नु आफैंमा अनौठो कुरा हो ।

कम्युनिस्ट आन्दोलनमा यस प्रकारको प्रयास पटक–पटक नभएको पनि होइन । तत्कालीन नेकपा एमाले पार्टी पनि आन्दोलनमा हुँदाको बखत पूर्णकालीन नेताले सामूहिक रूपमा बस्ने अभ्यास गरेका थिए तर लामो समय चलेन । सबभन्दा बढी माओवादीले जनयुद्धको समयमा यसको अभ्यास गरेको थियो ।

अहिले ती सबै बन्द भइसकेका छन् तर २०५९ माघ २५ गते तत्कालीन एकता केन्द्रले स्थापना गरेको आधारशिला अझैसम्म सञ्चालनमा छ । पार्टीका पूर्णकालीन नेताका छोराछोरीलाई लालनपालन तथा शिक्षा दीक्षाका लागि सिरहाको गोलबजारमा सो आधारशिला स्थापना गरिएको थियो । सुरुमा १८ जनाको सहभागितामा सो आधारशिलाको सुरुवात गरिएको थियो ।

बर्दिवासमा रहेको आधारशिलामा अहिले पनि १४ परिवारका ४५ जना एकसाथ बसिरहेका छन् । त्यसमा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, विश्वनाथ साह, माधव कोइराला, हरिनारायण चौधरी, विदुर कार्की, दीपबहादुर योञ्जन लगायतका परिवार बसिरहेका छन् ।

यसका संस्थापक तथा संरक्षक नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल छन् । उनीहरुको रेखदेख र प्रशिक्षणमा त्यो आधारशिला सञ्चालनमा रहेको छ । गोलबजारमा आधारशिला सुरुवात गर्दा सोही पार्टीका नेता विश्वनाथ साहले आफ्नो घर र जग्गा दिएका थिए । त्यसैमा खाद्यान्न उत्पादन गरेर खानुका साथै आधारशिलामा बस्ने नेताले मसला उद्योग पनि खोलेका थिए ।

त्यसमा ११ बालबालिका थिए । उनीहरूलाई त्यहीको जनता माध्यमिक विद्यालय असनपुर गोलबजारमा भर्ना गरिएको थियो । आधारशिला स्थापना गरेको बेला (माघ १९) राजा ज्ञानेन्द्र शाहले देशको शासन सत्ता आफ्नो हातमा लिएको बेला थियो । तत्कालीन एकता केन्द्रले बाध्य भएर पनि आधारशिला खोलेको थियो ।

आधारशिलामा बस्दै आएका शिव फुयाँलले भने, ‘कहाँ बस्ने, कहाँ लुक्नेसम्मको अवस्था पनि आइसकेको थियो अनि आधारशिला बनाएर सामूहिक रूपमा बस्ने, खेतीपाती गर्ने र त्यसैको आडमा राजनीति गर्ने सोच बनेको थियो ।’ नेता विश्वनाथ साहको भनाइ पनि त्यस्तै छ । आधारशिला खोल्ने सोच धेरै पहिला देखिको थियो तर ज्ञानेन्द्रको ‘कु’ ले एउटा संयोग जुटाइदिएको मात्र हो ।

आधारशिलामा मसला उद्योग थियो । झोलामा मसला लिएर बेच्दै हिँड्ने र त्यसमा राजनीतिक कुरा गर्थे । त्यस कारणले कसैले शंका गरेका थिएनन् । आधारशिलामा बसेका नेताले गरेको श्रमबाट बचेको आम्दानीले गोलबजारमा अढाई लाखमा दुई कट्ठा जमिन पनि किनेका थिए । पछि त्यही जमिन २५ लाखमा बेचेर २०६६ सालमा महोत्तरीको बर्दिवासमा आधारशिला सरेको थियो ।

त्यसमा बस्ने नेता कोही शिक्षक छन्, कोही सांसद छन्, कोही मन्त्री छन्, कोही किसान छन् । आआफ्नो कामको प्रकृति अनुसार कतिपय बाहिर पनि बस्नुहुन्छ तर मूलघर जस्तै कामबाट फर्केपछि वा बिदामा आएपछि यही आधारशिलामा आएर बस्ने गरेको आधारशिलाका सदस्य माधव कोइरालाले जानकारी दिए ।

कतिपय नेता बाहिर भए पनि उनका छोराछोरा यही बस्छन्, यहीको जनता मावि गौरीडाँडामा पढ्छन् । सबैको सामूहिक रूपमा खाना पाक्छ र सबै सामूहिक रूपमा खान्छन् । उत्पादन पनि सामूहिक रूपमा गर्छन् र खर्च पनि सामूहिक रूपमा गर्छन् । माधव कोइरालाको मूलघर उदयपुर हो । उनी आधारशिलामा आएपछि आफ्नो सारा सम्पत्ति र गाईबस्तुसमेत बेचेर यहाँ आएका थिए ।

उनले भने, ‘मसँग यो आधारशिलाबाहेक अरू केही छैन ।’ गिरिराजमणि पोखरेल स्वयं पनि मोरङ छाडेर आधारशिलामा बस्छन् । उनले मोरङबाट आठ कट्ठा जमिन बेचेर यसमा लगाएको सदस्य फुयाँलले बताए । पोखरेल महोत्तरीबाट नै चुनावमा उठ्छन् र सधैँ जित्दै आएका छन् । ‘नेकपाले समाजवाद कार्यदिशा तय गरेको छ, त्यसका लागि आधारशिला जस्तो अर्को कुनै विकल्प हुन सक्दैन,’ उनी भन्छन्, ‘नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र नयाँ ढङ्गको पार्टी निर्माणलाई सहयोग गर्ने यसखालको अभ्यास गर्न जरुरी छ ।’

उत्पादनमा आत्मनिर्भर बनाउन आधारशिलामा मसला उद्योगका साथै गाईपालनसमेत गरेको थियो । अहिले १३ कट्ठा आफ्नै जमिन छ र अरू केही जमिन भाडामा लिएर सामूहिक खेती पनि गरिरहेका छन् । त्यति मात्र होइन, आधारशिलाले आफ्नै अस्पताल, आफ्नै एमएम रेडियो, आफ्नै सहकारी, जयगोविन्द शाह अध्ययन केन्द्र, होस्टेलसमेत खोलेको छ ।

नाकाबन्दीका कारण मसला उद्योग र गाई फार्म बन्द भइसकेका छन् । अरू सबै जसोतसो सञ्चालनको अवस्थामा रहेको सदस्य कोइरालाले जानकारी दिए । आधारशिलाले गर्दा त्यस वरपरमा पनि सकारात्मक प्रभाव पारेको स्थानीय तुलसीप्रसाद ढुङ्गानाले बताए ।

उनले भने, ‘यो आधारशिलाले वरिपरि राम्रो सन्देश दिएको छ, यहाँका सामूहिक कार्य र वैचारिक अवस्था हेरेर धेरैलाई यसै गरौँ जस्तो लाग्नेगरेको छ ।’ त्यहाँका नगरप्रमुख विदुर कार्कीले पनि आधारशिलाले समाजमा सकारात्मक सन्देश दिएको बताए । (आजको गोरखापत्र दैनिकबाट)