समयमै काम नसक्ने ठेकेदारहरुलाई सार्वजनिक गर्न पत्रकारहरुलाई आह्वान

१७ जेष्ठ २०७५, बिहीबार ०६:०४

जेठ १७, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तस्कर र भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेसन चलाउने बताएका छन् ।

निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न थापाले पत्रकारहरुलाई आह्वान पनि गरेका छन् ।

चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उदघाटन गर्दै मन्त्री थापाले भने, ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नसक्ने, यी प्रतिगामीहरु सामन्त वर्ग होइन, दलाल हुन् । यस्ता ठेकेदार तस्करहरु हुन्, देशको समृद्धिको बाधक हुन् । यिनी खलनायकहरुको फोटो सार्वजनिक गर्नुस् ।’

गृहमन्त्री थापाले विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग गर्ने पनि गृहमन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, चितवनका विभिन्न नगरपालिकाका प्रमुख, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल लगायतले पनि सम्बोधन गरेका थिए ।