सन्थाल समुदायको परम्परागत राजनीतिक संरचना र न्याय प्रणालीः एक परिचय

१२ बैशाख २०७७, शुक्रबार १६:४०

ओम नाथ कडरिया,

समाज र समुदाय निरन्तर परिवर्तनशील भइरहन्छन् । सधैँ एउटै स्थितिमा केही र कोही पनि रहन सक्दैन । समयको आवश्यकतासँग मानवजाति निरन्तर लच्किरहनुपर्दछ । परिवर्तनका सीमाहरुलाई आत्मसात् पनि गर्न सक्नुपर्छ । जन्म देखि मृत्युसम्म मानिस समाजको नियम र कानुनदवरा बाँधिएको हुन्छ । आफूलाई अनुकूलित बनाउन सधैँ एकै ठाउँ रहिरहन्छ भन्ने छैन । त्यसैले, कुनै पनि समुदायको परम्परागत राजनीतिक र सामाजिक संगठन पनि समयानुकूलमा फ्लुइड हुन्छन् र नयाँ ढङ्गबाट अगाडि बढ्दछन् । मैले यो लेखमा झापा जिल्लाको संथाल समुदायको परम्परागत राजनीतिक संरचना वा संगठनको चर्चा गर्दै नयाँ राज्य व्यवस्थाका राजनीतिक प्रणालीमा नयाँ ढङ्गले अभ्यस्त हुँदै गएको कुरालाई उठाउने प्रयास गरेको छु ।
सन्थाल जाति परम्परागत जीवनशैलीलाई अपनाउँदै घुमन्ते जीवन पद्धतिबाट वर्तमानको आधुनिक जीवनशैलीसम्म आइपुग्दा धेरै हण्डर ठक्कर खाँदै समाज, समुदाय र मानवसँगै अनुकूलित हुँदै आफ्नो ठाउँ बनाउँदै अस्तित्वमा रहँदै आएका छन् । झापामा करिव तीस हजारभन्दा बढी संख्यामा रहेका सन्थाल जाति उनीहरुको इच्छा र आवश्यकता बढ्दै जाँदा नयाँ नयाँ संस्थामा समाहित हुनुपर्ने बाध्यता र जीवन पद्धतिलाई नै बदल्नु पर्ने पनि भयो । समाजले सिर्जना गरेका नियम भित्र बसेर आफ्नै मूल्य, मान्यता र विश्वासलाई कायन राख्दै परिवर्तनलाई स्वीकार गर्दै आएका केही राजनीतिक संरचनागत विशेषतालाई चर्चा गरिन्छ ।
राजनीतिक हिसाबले आफ्ना नीति तथा नियमलाई पालन गर्दै गराउँदै शासन चलाउने पद्धति नै राजनीतिक प्रणाली हो । आफ्ना नीति तथा नियमलाई नियमित गर्नका लागि कुनै पनि संस्थाको आवश्यकता पर्दछ । सन्थाल समुदायमा पनि गभरनिङ बडीको रुपमा परम्परागत राजनीतिक संस्थाहरु रहेका छन् जसले वर्तमान समयसम्म आइपुग्दा सोसियल सोलिडारिटि, समतामूलक न्यायिक व्यवस्था र सामाजिक पारस्परिकतालाई कायम राख्न सफल भएका छन् । ती राजनीतिक संगठनलाई तपशिलमा केलाउने प्रयास गरिन्छ ।

माझी पारगना

माझी पारगना सन्थाल समुदायको एउटा संरचना हो जसको सन्चालन सन्थाल समुदायको सामाजिक ,सांस्कृतिक र राजनीतिक परम्पराबाट सञ्चालित हुन्छ । यसले सम्पूर्ण सन्थाली पद्धतिलाई नियन्त्रण र नियमित गर्दछ । यसभित्र रहेका पदाधिकारीहरुको समयावधि तोकिएको् हुँदैन र सामाजिक रुपमा देखा परेका समस्यालाई समाधान गर्नका लागि यसभित्रका पदाधिकारीहरु इमानदार र कर्तव्यनिष्ठ हुनुपर्दछ । पारगनाका सदस्यहरुको कार्य सम्पादन मूल्याङ्कन चुस्त तथा दुरुस्त नभएमा सबैको सल्लाहमा पदाधिकारीलाई प्रजातान्त्रिक प्रकृयादवरा हटाइने प्रावधान पनि यस संस्थामा रहेको पाइन्छ । पहिले पहिले वंशाणुगत हिसाबले पनि गाउँको प्रमुख नियुक्त गरिन्थ्यो र उसैको जेठो छोरोलाई प्रमुखको निरन्तरता दिने चलन थियो तर आजभोलि सामूहिक निर्णयदवरा प्रमुख नियुक्त गर्ने प्रचलन रहेको छ । पारगनाभित्र माझी हराम (हडाम), पारानिक, जोगमाझी, नाइके, कुडोमनाइके, गोडेत र राइबर बूढा गरेर विभिन्न भागहरु रहेका छन् जसलाई निम्न अनुसार चर्चा गरिन्छ ।

१. माझीहडाम पद्धतिः सन्थाल जातिको परम्परागत राजनीतिक संगठन माझी हडाम हो । यो न्यायिक निरुपणको मुख्य अस्त्र मानिन्छ । यसको उत्पति भारतमा धेरै समय अगाडि भएको मानिएको छ । सन्थाली संस्कृतिलाई जोगाउन यसको मुख्य भूमिका रहन्छ । सन्थाल समुदायमा आएका विभिन्न खाले विवाद समाधानको यो एउटा माध्यम हो । यसले विवाह, सम्बन्ध विच्छेद (पारपाचुके) जन्म, मूल्य र मान्यता आदिलाई एकरुपता प्रदान गर्ने काम गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ले व्यक्तिलाई माझी हडामको चयन गरिन्छ । माझी हडाम गाउँ परिषदको (पञ्चायत) एउटा संरचना हो । यो संस्थाले गरेका निर्णयहरु मान्न सम्पूर्ण बाध्यकारी हुन्छन् । माझी हडाम माझी पारगनाको प्रमुख व्यक्ति हुन् जसले परम्परागत न्यायिक प्रणालीलाई कायम गर्दछ । यस्तो प्रकृयामा सन्थाल समुदायको परम्परागत सामाजिक राजनीनितक मूल्य मान्यता , प्रजातान्त्रिक आस्था र विचारलाई मनासिव ठानी काम गर्ने गरिन्छ । यो समुदायमा उठेका विविध खाले समस्यालाई सामूहिक रुपमा भेला गराई माझी हडामको उपस्थितिमा समस्या समाधान गर्ने गरिन्छ । गम्भिर प्रकृतिका मुद्दा मामिलाहरु छन् भने निश्चित मिति तोकेर माझी हडामको घरमा छलफल गरी निर्णय गर्ने गरिन्छ । न्यायपालिकालाई जसरी आधुनिक राज्यप्रणालीको प्राण भनिन्छ त्यसैगरी सन्थाल समुदायको परम्परागत न्यायिकप्रणाली माझी हराम हो । जसले सामाजिक सोलिडारिटि र समान सहअस्तित्वलाई शिरोधार्य गरेको हुन्छ । मुद्दा मामिलामा दोषी ठहरिए कानुन बमोजिम दण्ड जरिवाना गरी निर्दोषीलाई सफाइ दिने चलन छ ।

२. पारानिकः पारगनाभित्रको अर्को पदाधिकारीलाई पाराणिक (पारानिक) भन्ने गरिन्छ । माझी हडामको अनुपस्थितिमा सम्पूर्ण कामकाजको जिम्मेवारी पारानिकले गर्ने गर्दछ । अर्को शब्दमा भन्नुपर्दा यसलाई माझी हडामको कानुनी सल्लाहकार पनि भनिन्छ । पारानिकले गाउँमा खेतीयोग्य जमिनको व्यवस्थापन गर्ने , रेखदेख गर्ने र जमिनलाई उर्वर बनाई उत्पादकत्व बढाउन मद्दत गर्ने काम गर्दछ । जमिनको समानुपातिक वितरणको लागि र नयाँ मानिसहरु बसोबासको लागि आएमा त्यसको उचित व्यवस्थापन गर्ने दायित्व पनि यसको रहन्छ । माझी हडाम नहुँदा सम्पूर्ण निर्णयाधिकार यसमा निहित हुने गर्दछ ।

३. जोगमाझीः जोगमाझीलाई पनि माझी हडामको कानुनी सल्लाहकार वा अर्को शब्दमा महान्याधिवक्ता जस्तोको रुपमा व्याख्या गरिन्छ । परम्परागत रुपमा रहेका नैतिक मूल्य र मान्यतालाई जोगाई न्यायिक प्रणाली चुस्त र दुरुस्त राख्न यसको भूमिका महत्त्वपूर्ण रहन्छ । गाउँमा विकसित भएका नयाँ नयाँ घटनाक्रमको सूचना सम्प्रेषण गर्ने काम पनि यसले गर्दछ । विवाह, भोजभतेर, सामाजिक सांस्कृतिक चाडपर्व र संस्कारहरुमा जोगमाझीले महत्त्वपूर्ण जिम्मेवारीता वहन गर्दछ ।

४. नाइके , सन्थाल समुदायको पूजारीको रुपमा यसलाई लिइन्छ । पण्डित्याइँ गर्नु एउटा पवित्र धार्मिक कार्य हो र यसलाई कायम राखिनुपर्दछ भन्ने मान्यताका साथ नाइकेले काम गर्ने गर्दछ । यो प्रायःजसो मुुर्मु समुदायबाट छनोट हुने गर्दछ । जसले जाहेरथ।नमा रहेको देवी देवता (बोङ्गा) लाई बलि दिने खास काम पाएको हुन्छ । सामूहिक रुपमा चाडपर्वको अवसरमा गरिने पूजा, बलि दिने काम, बच्चा जन्मिँदा र मानिस मर्दा पण्डितको भूमिका नाइकेको हुने हुँदा यसको विशेष महत्त्व छ ।

५. कुदोमनाइके (कुडोम) नाइकेको सहयोगीको रुपमा भूमिका निर्वाह गर्ने कार्य कुडोमनाइकेले गर्ने गर्दछ । धार्मिक कार्यहरुमा नाइके नहुँदाको अवस्थामा विभिन्न कार्य गर्दछ र काम गरेबापत् लत्ताकपडा, पैसा र विभिन्न अन्नबाली पनि उपहार पाउने गर्दछ ।

६. गोडेत (गोडित) सन्थाल समुदायमा सूचना सम्प्रेषण गर्ने पद्दति पनि छ । विभिन्न समस्या आइ परेमा ती समस्याहरु माझी हडाम समक्ष पु¥याउने र मुद्दा छिनोफानो गर्नका लागि गाउँघरमा गई उपस्थितिका लागि सूचना दिने काम गोडेतको हुन्छ । यसले ढ्याङ्ग्रो ठोकेर बोलावट गर्ने काम र सार्वजनिक समारोहको लागि चन्दा संकलन गर्ने काम पनि गर्दछ । अर्को शब्दमा भन्नु पर्दा माझी हडाम र अन्य सहयोगीहरुको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्ने बलियो सेनाको रुपमा यसलाई परिभाषित गरिन्छ ।

७. राइबर बूढाः साधारणतया विवाहको कुरा छिनोफानो गर्ने बेलामा लमीको आवश्यकता पर्दछ । राइबर बूढा पनि सन्थाल समुदायभित्रको लमीको रुपमा चिनिन्छ । केटा पक्ष र केटी पक्षलाई मिलाउने मध्यस्थकर्ताको भूमिकामा राइबर बूढा रहन्छन् ।

पारगना

माझी पारगनाबाहेक परम्परागत हिसाबले चलनमा रहेको अर्को संरचना पारगना हो । करिब करिब बीस पच्चीस गाउँका माझी हडामहरु यसभित्र गोलबद्ध भई धेरै माझी हडामहरु मध्येबाट पारगाना प्रमुखको नियुक्त गर्ने गरिन्छ । सीमित क्षेत्रका गाउँलेका सीमित मुद्दाहरु निश्कर्षमा नपुगेको अवस्थामा वा गाउँलेले टुङ्ग्याउन नमिल्ने मुद्दाहरु वा दुई वा दुई भन्दा बढी माझी हडाम बीचमा द्वन्द्व रहेका मुद्दा मामिलाको अन्त्यका लागि सन्थालको यो संरचनाले प्रयास गर्दछ ।

१. देशममाझीः माझी पारगनाहरुले निचोडमा पु¥याउन नसकेका केसहरुलाई सुल्झाउने काम यसले गर्दछ । देशममाझी प्रमुख रहने यस संरचनाले पारगनाहरुले नसकेका वा बाझिएका तथ्यहरुलाई केलाएर निश्कर्ष दिने काम गर्दछ । न्यायिक निरुपण र सामाजिक न्याय स्थापनाका लागि यसको भूमिका महतत्वपूर्ण रहन्छ ।

२. लबीर बैँशी ( सिकार सभा) जसरी नेपालमा न्यायपालिका अन्तर्गत सर्वोच्च अदालत न्यायिक निरुपणको रुपेक्स अदालत मानिन्छ त्यसरी नै सन्थाल समुदायको जनधन र जिउन्यानको सुरक्षा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याई निर्दोषीलाई इन्साफ दिलाउने काम यसले गर्दछ भन्ने परम्परागत मान्यता छ । न्यायको लागि यसलाई अन्तिम न्यायिक अदालत पनि भन्ने गरिन्छ । यो अदालतदवरा अन्तिम फैसला सुनाउने क्रममा झुटो बोल्न पनि पाइँदैन भन्ने पनि छ । यदि कसैले बोल्छ भने त्यसलाई जङ्गली जनावरले खाइदिइर मृत्यु हुने सम्मको अनुमान गरेको देखिन्छ । सिकार सभालाई पर्वको रुपमा मनाउने वा वर्षमा एकपटक गाउँका प्रमुख व्यक्तिलाई भेला गराएर जङ्गलमा सिकार खेल्न जाने र सिकार गरी मासु , रक्सी, जाँड खाने , पिउने र निचोडमा नपुगेका झुठाको अन्तिम फैसला गर्ने गरिन्छ । सन्थाली समुदायका यी संस्थाहरुले स्वेच्छिक निर्णय गर्दछन् र संस्था बिचमा असल शासन व्यवस्था स्थापनाको लागि कोसिस गर्दछन् । न्यायिक व्यवस्थापनका लागि निश्पक्षता , पारदर्शिता, जवाफदेहिता, तटस्थता, जिम्मेवारीता, जनसहभागिता र चुस्त तथा दुरुस्त शासन प्रणालीलाई अपनाउने यी संस्थाहरुले कुनै न कुनै तवरले सामाजिक, आर्थिक र राजनीतिक सम्बन्धलाई परिचालन गरी समाजलाई अगाडि बढाइरहेको देखिन्छ ।

३.बितलाहाः यो एक प्रकारको सामाजिक दण्ड हो । एन्डोगामी र एक्सोगामी विवाहको मूल्य मान्यतालाई तोडेको खण्डमा सन्थाल समुदायबाट सामाजिक बहिष्कार गर्ने पद्धति नै बितलाहा हो । तिनीहरुलाई सन्थाल समुदायको सदस्यता पनि नरहने गरी निकाला गर्ने चलन पनि यसमा छ । सामाजिक रीतिरिवाज तथा विभिन्न परम्परागत चाडपर्वमा भाग लिन नपाउने गरी गाउँसभाको निर्देशनमा यो दण्ड लागु गरिन्छ । जसलाई यो सजायको भागीदार गराइन्छ उसका सन्ततिले सन्थाल समुदायका सदस्यसँग विहावारी गर्न समेत नपाउने प्रचलन रहेको बुझिन्छ । तर आजकल यो पद्धति कडाइका साथ लागु नभएको पनि सन्थाल समुदायका बुद्धिजीविहरु बताउँछन् । समयसापेक्ष सोचाइमा सुधार हुँदै गएको देखिएको छ । दण्ड जरिवाना पछि अर्थात् अपराधिले अपराध स्वीकार गरेपछि वा गाउँसभाको सर्त मानेपछि समुदायको सदस्यको रुपमा स्वीकार गर्न पनि थालिएको छ ।

४. जाम जातिः ः आफ्नो समुदायबाट अलगिएको वा अलग्याइएको सदस्यलाई आफ्नै समुदायमा भित्र्याउने पद्धतिलाई जाम जाति भनिन्छ । यो प्रथाले सन्थाल समुदायको अक्षुणता कायम गर्न र सामाजिक सहअस्तित्वलाई जगेर्ना गर्न मद्दत पु¥याइरहेको छ । क्रिश्चियन धर्ममा लागेकालाई पनि आफ्नै धर्म परम्परामा फर्काउने क्रममा पनि यो जाम जाति पद्धतिलाई उपयोगमा ल्याइन्छ । जाम जाति नगरी क्रिश्चियनलाई पनि सन्थाल समुदायमा आउनै दिइँदैन । जसलाई बहिष्कार गरिएको छ उनीहरुले माझी हडाम कहाँ गई अनुरोध गरिसकेपछि यो प्रकृया अगाडि बढ्छ । गोडेतको सूचनादवरा दिन तोकी यो प्रकृयालाई अगाडि बढाउने कुरा गाउँले समक्ष पु¥याइन्छ । अपराधि व्यक्तिलाई लोटाको पानीदवरा मुख धुन लगाइ चोख्याएर गाउँ पस्न दिइन्छ । सन्थाल समुदायले त्यस क्रममा तोकिएको जरिवाना तिर्न लगाइन्छ र गैर सन्थाली बनाइएको व्यक्तिलाई सन्थाली समुदायमा ल्याइन्छ । त्यसैक्रममा माझी हडामको निर्देशनाअनुसार गाउँलेदवरा तयार गरिएको विशेष भोज त्यस समुदायले स्वीकार गरेपछि मात्र अपराधि वा सन्थाल समुदायबाट निष्काशित व्यक्तिलाई पुनः सदस्यता दिइन्छ र आफ्नो समुदायको बनाइन्छ । अन्त्यमा माझी हडामले अब यो विषय यही समाप्त हुन्छ भनी घोषणा गर्दछन् । समग्रमा भन्नुपर्दा सभ्य समाजको निर्माण र संचालनका लागि कुनै न कुनै प्रकारको न्याय प्रणाली रहनुपर्दछ । सन्थाल समुदायको परम्परागत सामाजिक राजनीतिक संरचना सधैँ अचल भएर बस्न सक्तैन र सकेन । समाज निर्माणको प्रकृयासँगै परिवर्तनका बहुआयामिक पक्षदवरा अथवा अन्य समुदायको सम्पर्कदवरा राज्यले स्थापित गरेका आधारभूत राज्यव्यवस्थाका न्यायिक संरचनाहरु स्वीकार गर्दै अगाडि बढेको यो समुदायले आफूलाई परिवर्तित पनि गरेको छ । राज्यको न्यायिक शक्तिको प्रयोग गर्ने, कानुनको व्याख्या गर्ने , विवादित प्रश्नहरु र कानुनी प्रश्नहरुको निर्धारण र निराकरण गर्ने उद्देश्यले स्थापित न्यायपालिकालाई यो समुदायले सहजै स्वीकार गरिएको छ । आफ्ना कोर मूल्य र मान्यतालाई जोगाउँदै राज्यले बनाएका न्यायिक निकायका काम कर्तव्यलाई कार्यान्वयन गर्ने गराउने काममा यो समुदाय प्रतिबद्ध भएर गएकोले पनि उसको परम्परागत सामाजिक राजनीतिक न्यायप्रणालीको महत्व अलि कम हुनु स्वााभाविक नै मानिन्छ ।