सनराइजर्स हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स आईपीएलको दोस्रो स्थानमा उक्लियो

२ बैशाख २०७६, सोमबार १०:०७

इन्डियन्स प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनायो । उसका लागि  कप्तान श्रेयस ऐयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए ।

जवाफमा हैदराबाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको हैदराबादले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यान एकपछि अर्को रुपमा आउट भए । उसका लागि डेविड वार्नरले ५१ तथा जोनी बेयरिस्टोले ४१ रन बनाए ।

तर त्यसपछि हैदरावाद अरु ४४ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । हैदराबादका लागि वार्नर र बेयरिस्टोबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । उसले १५ रनमा ८ विकेट गुमाएको थियो । 

उसलाई कम स्कोरमा रोक्न कागिसो राबाडाले चार तथा क्रिस मोरिस र कीमो पलले तीन तीन विकेट लिए । जितपछि दिल्ली आठ खेलमा ५ जितका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ ।