सदरमुकाम सुनसान, गाउँ भरिभराउ

१९ भाद्र २०७६, बिहीबार १०:१४

दैलेख , कालिकोटको रास्कोट नगरपालिका–८ का धर्मराज धमला सदरमुकाम मान्म बजारमा होटल व्यवसाय गर्थे।

सशस्त्र द्वन्द्व र त्यसपछिको समयमा पनि गाउँबाट सदरमुकाम आउनेहरूको भीड लाग्थ्यो।

‘किनमेल, बेचबिखन, विभिन्न कार्यक्रम र सरकारी कामकाजका सिलसिलामा आउजाउ गर्ने बढी हुँदा सदरमुकाम भरिभराउ हुन्थ्यो, व्यवसाय पनि जमेको थियो,’ अहिले गाउँमै होटल खोलेका उनले भने, ‘स्थानीय सरकार आएपछि सदरमुकाम शून्य हुँदै गयो, गाउँ भरिभराउ।’

धमलाले भनेजस्तै अहिले कालीकोटको सदरमुकाम मान्म सुनसान छ। अत्यावश्यक सरकारी कामबाहेक आउने काम नपर्ने भएकाले सदरमुकाममा खासै चहलपहल छैन।

त्यसकारण व्यापार–व्यवसाय पनि पहिलेजस्तो हुँदैन। स्थानीय सरकार सञ्चालनमा आएसँगै सदरमुकाम सुनसान हुन थालेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए। उनका अनुसार स्थानीय तहको निर्वाचन भएसँगै सदरमुकाम क्रमिक रूपमा सुनसान हुन थालेको हो।

‘सदरमुकाममा पहिलेजस्तो चहलपहल नै छैन,’ उनले भने, ‘व्यापार–व्यवसाय सबै गाउँ केन्द्रित भएको छ।’

केही वर्षअघिसम्म गाउँमा सडक पुगेको थिएन । बैंक तथा वित्तीय संस्थामात्रै होइन, उपचारका लागि स्वास्थ्यचौकी पनि थिएन। ‘

अहिले गाउँगाउँमा सडक पुगे, सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरू छन्, अस्पताल तथा स्वास्थ्यचौकी बनेका छन्,’ अध्यक्ष शाहीले भने, ‘आवश्यक सुविधा गाउँमा पुगेपछि सदरमुकाम खाली हुने नै भयो।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।