सडक विभागको कामप्रति असन्तुष्ट छुः मन्त्री महासेठ

१५ पुष २०७५, आईतवार १४:०६

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।उहाँले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षाअनुसार सुधार आउन नसकेको पनि स्पष्ट पार्नु भयो ।

आईतबार काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले आगामी चैत्र महिनाभित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाईरहेको दावी पनि गर्नु भयो ।मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नु भयो । मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनुपरेकाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जानकारी दिनु भयो ।