सडक अवरुद्ध भएपछि दसैँका सामग्री भन्सारमै रोकिए

३१ भाद्र २०७६, मंगलवार १५:१६

रसुवा , रसुवागढी नाका जोड्ने दुवै सडक अवरुद्ध भएपछि दसैंका लागि आयात भएका सामग्री रसुवागढी भन्सारमा नै रोकिएका छन् ।

अवरुद्ध भएका दुवै सडक खोल्नका लागि शनिबारदेखि काम थालिएको भए पनि धेरै स्थानमा पहिरो गएको र २४ वटा ह्युम पाइप राख्नपर्ने भएपछि सडक खुल्न सकेको छैन । रसुवागढी भन्सार कार्यालयका अनुसार चार सय भन्दा बढी सामग्री बोकेका कन्टेनर भन्सार यार्डमा रोकिएका छन् ।

दसैँका लागि रेडिमेड सामग्री र स्याउ आयात भएको छ ।

यता सडक अवरुद्ध भएपछि व्यापारीले डाइभर्ट गरेर सामग्री तातोपानीबाट लैजाने तयारी गरेका छन् । दसैँका सामग्री समयमा नै पुर्‍याउन नसक्ने देखिएपछि व्यापारी उता लागेका हुन् । सडक यही भदौ २५ गतेदेखि बन्द भएको हो ।