सडकमा पार्किङ, बसपार्कमा मेला, सर्वसाधारणलाई सास्ती

१७ भाद्र २०७५, आईतवार १६:५७

ताप्लेजुङमा वर्षेनी सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडामा मेला लाग्ने गरेको छ । सो ठाउँमा लाग्ने मेलाका लागी जिल्ला प्रशासन कार्यालयले अनुमति दिने गरेका छ । तर, सर्वसाधारणलाई भने सास्ती हुने गरेको छ ।

उक्त स्थानमा रहेको अस्थाई बसपार्कमा जिल्ला प्रशासन कायाृलयको अनुमति अनुसार नै वर्षेनी मेलाको लाग्ने गरेको छ । बसपार्कमा मेला लाग्ने भएकाले सवारी साधन चाँहि सडकमा पार्किङ गरिदै आएको छ । बसपार्कमै मेला लाग्ने भएकाले सवारी साधन मेची राजमार्गमा लाम लगाएर पार्किङ गरिने भएकाकारण आवत जावत गर्ने सवारी साधनहरुलाई पनि सास्ती हुने गरेको छ ।

यस ठाउँलाई तोक्मे क्षेत्र सबैभन्दा बढी जमघट हुने स्थानको रुपमा पनि लिने गरिन्छ । जिल्लाबाहिर र जिल्लाका विभिन्न गाउँ जाने तथा आउने सवारी साधन यहींबाट सञ्चालन हुन्छन् । राजमार्गमै सवारी साधन राखेर पार्किङस्थलमा मेला लगाउन दिनु स्थानीय प्रशासन र नगरपालिकाको गैरजिम्मेवारी भएको स्थानीयको गुनासो छ । यसले दुर्घटनाको जोखिम बढाएको स्थानीय दीपेन पोमूले बताए ।

‘यस्तो कार्यले स्थानीय सरकार र प्रशासन नागरिकप्रति उत्तरदायी नभएको देखाउँछ’, उनले भने, ‘सडकै ढाक्ने गरी गाडी पार्किङ गरिँदा दुर्घटना भयो भने जिम्मेवारी कसले लिने ? ’ जिल्लावासीलाई मनोरञ्जन र स्थानीय तहलाई राजस्वका हिसाबले मेला आवश्यक भए पनि गलत ठाउँमा लगाइएको उनको भनाइ छ । राजस्व उठ्छ भन्दैमा नगरपालिका र प्रशासनले ठाउँको विचार नगरी अनुमति दिन नहुने उनले बताए ।

बजार क्षेत्रमा पार्किङस्थल र बसपार्क छैन । त्यसैले फुङलिङ–४ मा पर्ने व्यक्तिगत जग्गा वर्षौंदेखि बसपार्ककै रूपमा प्रयोग हुँदै आएको छ । ‘व्यक्तिगत जग्गा भए पनि अहिलेको हाम्रो बसपार्क यही हो’, स्थानीय योगेन्द्र निरौलाले भने, ‘त्यहाँ राखिने गाडी बजार क्षेत्रको सडकमा पार्किङ गरिँदा बजारै कुरुप बनेको छ ।’

मेला सञ्चालन भएकै अवस्थामा केही वर्षअघि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको थियो । साँघुरो सडकका कारण प्रत्येक महिनासजो बजार क्षेत्रमा दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । मेला लाग्ने स्थाननजिकै शनिबार र मंगलबार हटिया लाग्छ । हटियामा गाउँ–गाउँबाट आउने किसान पनि मेलाका कारण असुरक्षित भएको बताउँछन् । ‘बाटोमा गाडी नै गाडी राखिएको छ’, हटिया आएका शान्तिराम तामाङले भने, ‘पैदल यात्रु बीच सडकबाट हिँड्नुपर्छ, गाडी पनि उस्तै तीव्र गतिमा कुदाउँछन्, वृद्धवृद्धा, बालबालिका र असक्तलाई त झनै समस्या भयो ।’