‘सञ्जु’ फिल्मको सामाजिक सञ्जालमा आलोचना उत्तिकै

२२ असार २०७५, शुक्रबार ०९:४६

असार २२, काठमाडौं ।

बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ ले बक्स अफिसमा तहल्का पिटिरहेको बेला सामाजिक सञ्जालमा भने आलोचनाको शिकार बनेको छ । खासगरी फिल्मका निर्देशक राजकुमार हिरानीमाथि दर्शकहरु असन्तुष्ट बनेका छन् ।

विवादित अभिनेता सञ्जय दत्तको छवि सुधार्नका लागि हिरानीले यो फिल्म बनाएको आरोप छ । बायोपिक फिल्म भनिए पनि बायोपिकमा हुनुपर्ने पूर्णता सञ्जुमा छैन । यसले सञ्जय दत्तको जीवनका सबै पक्षलाई छुन सकेको छैन । उनी आतंकवादी नभएको प्रमाणित गर्नमा फिल्म लक्ष्यित देखिएको छ ।

एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘ड्रग्सको लतका लागि साथी जिम्मेवार, हतियार उठाउनमा अन्डरवल्र्डको डर जिम्मेवार, आतंकवादी भनिनुमा मिडिया जिम्मेवार । सञ्जय दत्त आफ्नो कुनै गल्तिका जिम्मेवार छैनन् ।’

धेरैले हिरानीका अघिल्ला फिल्महरुको स्तरमा सञ्जु नरहेको पनि टिप्पणी गरेका छन् । हिरानीका थ्री इडियट्स, मुन्नाभाई एमबीबीएस, पीके जस्ता फिल्महरुमा पाइएको कमेडी यो फिल्ममा देख्न नपाइएको उनीहरुको भनाई छ ।

यद्यपि, फिल्मको प्रशंसा गर्नेहरु पनि धेरै छन् । खासगरी रणवीर कपुरले गरेको अभिनयले धेरैको तारिफ बटुलेको छ ।

व्यापारिक रुपमा सञ्जुले किर्तिमान कायम गरेको छ । यसले तेस्रो दिन करिब ६७ करोडको व्यापार गरेर सो किर्तिमान राखेको हो ।

फिल्मले सञ्जय दत्तका फ्यान र रणवीरका फ्यानलाई आकषिर्त गरेको छ । आम दर्शकहरुका लागि भने फिल्म खासै रुचिकर छैन ।