सञ्चारकर्मीको भूमिका महत्वपूर्णः पूर्वअध्यक्ष रेग्मी

१४ पुष २०७४, शुक्रबार १४:३६

पुस १४, काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।


अग्निवाण पाक्षिक पत्रिकाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘अग्निवाण क्रियाशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान’ कार्यक्रममा कसैको आग्रह र पूर्वाग्रहमा नलागी सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले भने, “लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनलाई केन्द्रमा राखेर कलम चलाउनुहोस् ।”  निर्वाचन सकिएको धेरै समय भइसक्दा पनि नतिजा सार्वजनिक हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै पूर्व अध्यक्ष रेग्मीले राजनीतिक दलहरुबीचको सहमतिबाट अहिले देखिएका समस्या समाधान गर्न सुझाव पनि दिए।

 

रक्षामन्त्री भीमसेनदास प्रधानले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै मुलुकले संविधान कार्यान्वयनको दिशामा फड्को मारेको छ भन्दै मुलुकको आर्थिक विकासमा पनिसञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।  काँग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित सांसदसमेत रेहेका उनले निर्वाचनले काँग्रेसले २००७ सालदेखि उठाएको मुद्दा पूरा भएको बताए। “अध्यादेश राष्ट्रपतिज्यूले प्रमाणीकरण गर्नुभएको छ, अब हामी चाँडै सरकार छाड्छौँ”, मन्त्री प्रधानले भने।

 

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न नसक्दा कम लगानी भएका सञ्चार माध्यामहरु मर्कामा परेको बताए । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले पत्रकार आचारसंहिताभित्र रहेर समाचार सम्प्रेषण तथा प्रकाशन गर्न सञ्चार माध्यमसंग आग्रह गरे। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकमा देखिएका समस्या समाधानका लागि प्रमुख दलहरुबीचको एकता आवश्यक रहेको बताए ।

 

पत्रिकाका प्रकाशक रवीन थपलिया, काँग्रेस महासमिति सदस्य इन्द्रमान महर्जन, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव चम्लागाईंलगायतले जनताको भावनालाई समेटेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । रु २५ हजार राशिको यस वर्षको अग्निवाण क्रियाशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार किरण मरहठ्ठा पुरस्कृत भएका छन् । यस्तै व्यक्तित्व सम्मानबाट समाजसेवी खड्गबहादुर श्रेष्ठ र अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठ सम्मानित भएको छ ।