संसद सञ्चालन खर्च मात्र वार्षिक ४ अर्ब २५ करोड

१९ पुष २०७४, बुधबार ०२:२५

पुस १९, काठमाडौं । सङ्घीय संसद्का दुई सदनको सञ्चालन खर्च वार्षिक एक अर्ब ७० करोड रुपियाँ हुने भएको छ । यो खर्च सङ्घीय संसद्का दुवै सदनका सदस्यको तलब भत्ता, कर्मचारीको खर्च तथा सचिवालय व्यवस्थापन समेत हो । प्रदेशसभा सञ्चालनको खर्च भने सातवटा प्रदेशमा गरी दुई अर्ब ५५ करोड हुने भएको छ ।

चालू वर्ष सम्म संसद सचिवालयको वार्षिक खर्च एक अर्ब ४१ करोड रहेको थियो । जसमा ६०१ जना सांसदको तलबभत्ता समेत समावेश थियो । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३३४ सांसद रहनेछन् तर सचिवालय व्यवस्थापन लगायतका खर्च बढेका कारण बजेट झन्डै २९ करोड रुपियाँले वृद्धि भएको हो ।

सातवटा प्रदेशसभा सञ्चालनको कुल खर्च वार्षिक दुई अर्ब ५५ करोड हुने भएको छ जसमा सातवटै प्रदेशका प्रदेशसभा सदस्यको तलब भत्ता र सचिवालय खर्च समेटिएको छ । भौतिक पूर्वाधार निर्माण खर्च भने यो रकममा जोडिएको छैन । संसद सचिवालयले गरेको सर्वेक्षणले एउटा प्रदेशसभाको सञ्चालन खर्च वार्षिक ३६ करोड ४२ लाख रुपियाँ अनुमानित गरेको थियो । प्रदेशसभाको आकार अनुसार खर्च फरक हुनेछ ।
–गोरखापत्र दैनिक