संविधान असफल भयो भने अहिलेको व्यवस्था र उपलब्धी ध्वस्त हुनेः गगन थापा

७ आश्विन २०७६, मंगलवार ११:५०

जनकपुरधाम, नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको आरोप लगाउनु भएको छ ।

जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप समेत लगाउनु भयो ।

उहाँले विधेयक ल्याउनमा समाजवादी पार्टीले समेत सघाउने गरेको बताउँदै सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनेको बताउनु भयो । नेता थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने बताउनु भयो ।

संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने बताउनु भयो । उहाँले भन्नु भयो , ‘सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ।’ नेता थापाले अब कांग्रेसको एउटै एजेण्डा २०७९ सालको चुनाव जित्ने चाहना तथा इच्छा रहेको बताउनु भयो ।

उहाँले अबको मिसन भने संविधानलाई संशोधन गराउँदै स्वीकार्य बनाउने रहेको पनि बताउनु भयो । उहाँले संविधान असफल भयो भने अहिलेको व्यवस्था र उपलब्धी ध्वस्त हुने समेत बताउनु भयो । उहाँले संविधान च्यात्नुपर्छ भन्नेहरुले संविधान संशोधन गरी सर्वस्विकार्य बनाउनेतिर लाग्न आह्वान समेत गर्नु भयो ।