संविधानले सबै समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको छ– प्रधानमन्त्री देउवा

१ माघ २०७४, सोमबार १३:४६

माघ १ काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताएका छन् ।

 

माघे संक्रान्तिको अवसरमा थारु कल्याणकारिणी सेवा समितिद्वारा टुडिखेलमा आज आयोजित माघी महोत्सवको उद्घाटन गर्दै उनले भने, “संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पँहुचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो ।”  नेपालका प्रत्येक जाति, जनजाती र धर्मावलम्बीको आ–आफ्नो मौलिक एवं सांस्कृति महत्व बोकेको चाडपर्व रहेको उल्लेख गर्दै उनले भने, “विविधता समस्या नभई संस्कृति हो ।”

 

 

प्रधानमन्त्री देउवाले हाम्रा चाडपर्वले नयाँ उमंग र उत्साह प्रदान गर्नुका साथै नेपालीबीच एकता र भाइचारा प्रगाढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै “नेपालीबीचको सुसम्बन्ध र आत्मीय बनाउन माघी पर्वले खेलेको भूमिका महत्वपूर्ण रही आएको छ,” उनले भने ।त्यस्तै भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले थारु समुदायले अधिकार र संस्कृति संरक्षणका लागि आन्दोलनलाई अघि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिए। नेपाली काँग्रेसका नेता एनपी साउदले भाषा, वेषभूषा र संस्कृतिका हिसाबले धनी थारु समुदायको संस्थागत विकासका लागि अझै ठोस प्रयासको खाँचो औल्याए ।

 

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीयता र समृद्धिलाई सँगसँगै लान सकिएमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व र विकासको ढोका खुल्ने धारणा व्यक्त गरे । महोत्सव उद्घाटन समारोहमा थारु समुदायको वेषभूषा र संस्कृति झल्कने नाच र गीत संगीत प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु समुदायका खानाको परिकारका २०० भन्दाबढी कक्ष रहेका थिए ।

थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । विगतको कामको समीक्षा र नयाँ कामको शुरुआती आजकै दिनदेखि हुने थारु समुदायका अगुवाहरु बताउँछन् । थारु समुदायको जनसंख्या मुलुकमा २० लाखभन्दा बढी छ । पूर्वी तराईको तुलनामा यो समुदायको जनघनत्व पश्चिम तराईमा बढी छ ।