संयुक्त अनुगमनका क्रममा बिर्तामोडको रेडमग र गाउँले होटलको खाद्य सामग्रीमा किरा भेटियो

२ चैत्र २०७४, शुक्रबार ०७:३१

चैत २, काठमाडौं ।

झापाको बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले होटलमा विक्रीका लागि राखिएको खाद्य सामग्रीमा किरा भेटिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा ती होटलका खाद्य सामग्रीमा किरा भेटिएको हो ।


गाउँले होटलमा बुधबार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा बिहीबार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री बिक्री बितरण गरिरहेको पाइएको हो ।

रेडमगमा बिक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए ।

यसैबीच, रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गरेको छन् । उनले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताए ।

सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ । रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएको थियो ।

अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने खाद्य निरीक्षक अर्यालको भनाइ छ । उनले भने, बिर्तामोडमा सञ्चालित होटलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री गर्दा रहेछन् हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाइमा ध्यान दिन भनेको छौं ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल नसुध्रिए, अर्को पटकको अनुगमनमा आउँदा अहिलेकै अवस्थामा पाइए होटल नै बन्द गर्छौं– अर्यालले भने ।

सबैभन्दा उत्कृष्टले (अतिउत्तम) थ्री स्टार पाउँछ भने उत्कृष्टले (उत्तम) टु स्टार, सन्तोषजनकले वान स्टारका हरियो रंगको स्टिकर पाउने र सामान्यले पहेँलो स्टिकर पाउने गरेको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले जनाए। उनले भने, बिर्तामोडका अधिकांश होटल स्वास्थ्यका हिसाबले अयोग्य रहेको पाइए ।