संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२७ आश्विन २०७४, शुक्रबार १३:३०

असोज २७, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

 

६२औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । संघ र प्रदेशको चुनावमा पनि सोही भूमिका खेल्ने विश्वास व्यक्त गरे ।   सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको बताउँदै उनले भने् – “त्यसका लागि राष्ट्रको तर्फबाट म उच्च प्रशंसा गर्छु ।”   प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न प्रहरीलाई उनले निर्देशन दिए।  देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी गराए ।   प्रहरीको कामको मूल्याँकन गर्ने निकाय जनता भएको बताउँदै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको विचार व्यक्त गरे ।

 

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सो अनुरुप काम भइरहेको पनि जानकारी दिए ।  राष्ट्रप्रति सेवाको प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धाको विकास प्रहरीमा हुनुपर्नेमा उनको जोड थियो ।  प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा उनिहरुका परिवारजनलाई कदरपत्र प्रदान गरेको थियो ।  प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ लगायतले प्रहरी प्रधान कार्यालयमा रहेको अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेको थियो । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गरिएको थियो । (रासस)