संघीयता असफल पार्ने बजेटः राजपा नेता महतो

२१ जेष्ठ २०७६, मंगलवार १५:४०

काठमाडौं , राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भीर आरोप लगाउनु भएको छ ।

सरकारले ल्याएको बजेट विभेदकारी रहेको भन्दै उहाँले विरोध गर्नु भयो । ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उहाँले तर्क गर्नु भयो । प्रतिनिधिसभा बैठकमा मंगलबार भएको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै महतोले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको बताउनु भयो । चुनावका बेला जनतासँग गरेको वाचाअनुसार विकास निर्माणको काम अघि बढाउन सांसदसँग योजना माग्नुको सट्टा ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको उहाँको भनाई थियो ।

महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन राजपाले सरकारसँग पटक–पटक माग गरेपनि सो अनुसार काम हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।