शिशु र मातृ मृत्युदर शून्य गर्न स्वास्थ्य सेवाको पहुँच बढाउने

१० माघ २०७६, शुक्रबार १३:३८

हालको समयमा बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको देखिन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृ मृत्युदर शून्यमा झरेको छ ।

घरघर पुगेर खोप लगाउने कार्य शुरूआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिइन् । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशतभन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनले दाबी गरिन् ।

केन्द्रमा वडा नम्बर ६ र ७ का वासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ । अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय वासिन्दा सेवा लिन जाने गरेका छन् ।

स्थानीय दानी गिरीले घर नजिकै स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताए । शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नम्बर १७ का वासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन् । केन्द्रले वडा नम्बर १७ देखि वडा नम्बर ५, ११ र १२ का वासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत ४ वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ ।

केन्द्रका अनमी शारदा सिंहका अनुसार १ वर्षको अवधिमै ४ हजार ३०० जनाले सामान्य उपचार सेवा पाएका छन् । तीमध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन् । सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९६६ जनाले लिएका छन् । १ हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् ।

भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन १६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको छ । भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ । केन्द्रबाट वडा नम्बर २, १५, १८ र १९ का दैनिक ७० वासिन्दा लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ ।

नगरपालिकाको वडा नम्बर ९ मा शहरी स्वास्थ्य केन्द्र भवन १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । केन्द्रको अर्को भवन २५ लाख रुपैयाँको लागतमा चालू आवमा निर्माण हुने वडाध्यक्ष राम नाथले जानकारी दिए ।

टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन १० लाख रुपैयाँ र खल्लामा रहेको गाउँघर क्लीनिक भवन १२ लाख रुपैयाँमा निर्माण गरिएका छन् । स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय वासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्थ्यो । सो वडाको जनसंख्या १० हजार रहेको छ ।
नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । ( लोकान्तरबाट )