शिक्षित नै मान्दैनन् हात्तीपाइलेको औषधि खान

१० फाल्गुन २०७४, बिहीबार १०:५७

फागुन १०, काठमाडौं ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ ।

तर, नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुझ्ने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘बुझ्ने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर–बजारमा झनै यसको सेवन गर्नेको संख्या निकै कम छ’, जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भने ।

विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ ।

दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खानेगरेका र अन्य जान्नेबुझ्नेले औषधि नखाइदिने समस्या रहेको बताए ।

त्यसैगरी, गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ । राज्यले यसको सचेतनाका लागि अर्बौं रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हाले झैं भएको छ ।

हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् ।

  • गर्भवती, दुई वर्ष नपुगेका केटाकेटी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला, फोक्सोको दीर्घरोगी तथा छारे रोगका बिरामीले औषधि सेवन गर्न नहुने र अन्य सबैले यो औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

दाङमा यही फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको हात्तीपाइले रोग निवारण विरुद्धको कार्यक्रमअन्तर्गत औषधि खुवाउने कार्यक्रम रहेको छ ।

त्यसलाई सफल पार्न विभिन्न क्षेत्रका व्यक्ति र सरोकारवालालाई जानकारी गराउन शुरु गरिएको छ । तर औषधि भने जिल्लामा नआएको बताइएको छ ।