शहीदले देखाएको बाटो

११ माघ २०७५, शुक्रबार १३:११

 

बिष्णुप्रसाद शर्मा

शहीदको सम्झनामा हिजो माघ १० गतेदेखि विविध कार्यक्रम गरी देशभर शहीद सप्ताह मनाइँदै छ । प्रजातन्त्र स्थापना तथा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको हो । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ माघ १० गते शहीद शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

राजनीतिक दलका नेताहरुले जति भाषण गरे पनि शहिदको सपना पुरा गर्न सकेका छैनन् । आफू सत्ता भन्दा बाहिर रहदा राजनीतिक दलहरुले शहिदको बलिदानी र त्याग तपस्याले नै देशमा प्रजातन्त्र आएको भन्दै खोक्रो भाषण गदै हिडे , जव आफू सत्तामा पुगे अनि सहिदका सवै त्याग , तपस्या र बलिदान भुल्दै आएका छन । शहिदको बारेमा बोल्ने नैतिक आधार दलहरुलाई छैन । शहीदले प्रजातन्त्रका लागि बलिदान गरेका थिए, राजनीतिक दलहरु र तिनका नेतालाई घर जग्गा गाडी र सुबिधाका लागी बलिदान दिएका होइनन् । नेताका आफन्त र आसेपासेलाई धनी बनाउन शहीदले आफ्नो आहुती दिएका थिएनन् । करोडौंको सुन तस्करी, अर्वौको भ्रष्टाचार गर्ने छुट दिनकै लागि शहीदले रगत बगाएका थिएनन् । जनतालाई स्वतन्त्र बनाउन, देशलाई सार्वभौम बनाउन उनीहरुले आफ्नो प्राणको आहुति दिएका थिए । तर विडम्बना नेपालको राजनैतिक नेतृत्वले लोकतन्त्रको आवरणमा आफ्नो ब्यक्तिगत धन सम्पति थुपार्ने धन्दा चलाइरहेका छन् । नेपालका नेतासँग अलिकति पनि राजनैतिक नैतिकता छ भने शहीदको सपना पुरा गर्नु पर्छ । शहिदप्रति पुष्प र अबिर अर्पण गरेर मात्र शहिदको सम्मान र श्रदाञ्जली हुदैन । शहिदको अपमान भएको छ । शहिदले देखाएको बाटोमा हिडने हो भने राजनीतिलाई व्यवसाय बनाउने काम बन्द गर्नु पर्छ र जनताको जीवनस्तर बदल्ने संकल्प गर्नुपर्छ । तवमात्र शहीदले देखाएको गन्तब्यमा पुग्न सकिन्छ । कर्मकाण्डी रुपमा शहीद सप्ताह मनाएर मात्र शहीदप्रतिको दायित्व पुरा हुदैन । शहीदले देखाएको बाटो राजनीतिक दलहरुले भुलेका छन । शहिदहरुले धिक्कार्दै छन ।