व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरे

८ माघ २०७४, सोमबार १०:५८

माघ ८, काठमाडौं ।

निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ । मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका छन् ।

घर निर्माणमा प्रयोग हुने सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य हठात बढेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यसबारे अनुगमन गरेको छ ।

विभागले तयार गरेको अनुगमन प्रतिवेदनले व्यवसायीले अनियमित ढंगले मूल्यवृद्धि गराएको निश्कर्ष निकालेको छअध्ययन प्रतिवेदन अनुसार व्यवसायीले १७ प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन्

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सात प्रतिशतको मूल्यवृद्धि घोषणा गरेर दोब्बरसम्म बढाएको बताए ।

भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करीव एक महिनाअघि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए ।

ती निर्माण समाग्रीको अस्वाभाविक मूल्यवृद्धि भएपछि विभागले धादिङका उद्योग र बजारबाट गरिएको मूल्य संकलनका आधारमा प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म र फलामे छडमा ५ देखि ९ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको उल्लेख छ ।

 

 

 

विभागका अनुसार :

  • अम्बे सिमेन्टले सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ । उक्त सिमेन्टले १७ प्रतिशत मूल्यवृद्धि गरेको छ ।
  • त्यस्तै, सालिमार ओपिसी सिमेन्टले १६ प्रतिशत,
  • शिवम् सिमेन्टले १५ दशमलव दुई प्रतिशत,
  • हेटौंडा सिमेन्टले १३ प्रतिशत,
  • निर्माण सिमेन्टले १२ दशमलव पाँच प्रतिशत,
  • अग्नी सिमेन्टले १० दशमलव पाँच प्रतिशत
  • र मारुती सिमेन्टले ६ दशमलव चार प्रतिशत मूल्यवृद्धि गरेको देखिएको छ ।

  • त्यस्तै, हामा छडले ८ दशमलव सात प्रतिशत,
  • जगदम्बा छडले सात प्रतिशत
  • र शाखः छडले ४.७ प्रतिशतसम्म मूल्यवृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ ।

उद्योगीहरूले क्लिङकर, डिजेल, विद्युत महसुल, ढुवानी, कोइला, जिप्सम, र बढ्दो खर्च, बैंकको ब्याजमा भएको मूल्यवृद्धिले वस्तुको मूल्य बढाउनुपरेको दाबी गरेका छन्।

उद्योगले गरेको मूल्यवृद्धि तथा भाँडामा भएको मनोमानी मूल्यवृद्धिले उपभोक्ता मूल्यमा सिमेन्ट प्रतिबोरा एक सय २० रुपैयाँसम्म र डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्यवृद्धि भएको पाइएको विभागले जनाएको छ ।

उद्योगीले बढाएको मूल्य अस्वभाविक भएको दावी गर्दै विभागले साविककै मूल्य कायम गर्न सुझाव दिएको छ । त्यस्तै, आवश्यक कच्चा पदार्थको उपलब्धता र आयातमा सजहता कायम गर्नुपर्ने, सरकारी स्वामित्वका उद्योगको क्षमता विकास र उत्पादन बढाउन पनि विभागले सुझाव दिएको छ ।

ट्रक व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिको बहानामा अवैज्ञानिक रुपमा पाँच प्रतिशतसम्म भाडा वृद्धि गरेको विभागले जानकारी दिए ।

मूल्यवृद्धिका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भनिए पनि आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योगले पनि मनोमानी मूल्य बढाएको प्रतिवेदनमा जनाइएको छ ।