विश्वभरका ११८ सुन्दरीलाई उछिन्दै भारतकी मानुषी छिल्लरले मिस वल्र्डको ताज पहिराईन्

२८ मंसिर २०७४, बिहीबार ०४:३४

यस वर्षको मिस वल्र्डको ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । चीनको सान्या सिटी एरेनामा आयोजित ६७ औं मिस वल्र्ड प्रतियोगितामा विश्वभरका ११८ सुन्दरीलाई उछिन्दै भारतकी मानुषीले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।
नेपालका तर्फबाट मिस नेपाल निकिता चान्डकले प्रतिस्पर्धा गरेकी थिइन् । २० वर्षीया मिस इन्डिया मानुषीले मिस वल्र्डको हेड टु हेड च्यालेन्जका साथै ब्युटी विथ अ पर्पस र एसियाका तर्फबाट कन्टिनेन्टल क्विन्सको सवटाइटलसमेत जितेकी छन् । प्युर्टो रिकोकी गत वर्षकी मिस वल्र्ड स्टेफेनिया डेल भ्यालेले मानुषीलाई ताज पहिर्यायेकी थिइन् ।

 

विश्व सुन्दरी प्रतियोगितामा मेक्सिकोकी एन्ड्रिया मेजा फस्ट रनरअप भइन् भने इंग्ल्यान्डकी स्टेफेनिया हिलले सेकेन्ड रनरअप बनिन् । उत्कृष्ट पाँचमा फ्रान्स र केन्याका सुन्दरी पनि परे । यसपटकको प्रतिस्पर्धामा पहिलोपटक अर्मानिया, लाओस र सेनेगलले समेत सहभागिता जनाएका थिए ।  ५४ औं मिस इन्डियाकी विजेता मानुषी हरियाणाकी हुन् । भारतका लागि छैठौं मिस वल्र्डको उपाधि जितेकी मानुषी मेडिकलकी विद्यार्थी हुन् । मानुषीको उपाधिपछि मिस वल्र्डमा भारत तथा भेनेजुएला सर्वाधिक टाइटल जित्ने राष्ट्र भएका छन् । बुवा डा। मित्र वासु र आमा डा। नीलमकी छोरी मानुषी क्लासिकल डान्सर पनि हुन् ।   सन् २००० मा पछिल्लोपटक प्रियंका चोपडाले भारतका लागि मिस वल्र्डको उपाधि जितेकी थिइन् । सन् १९९४ की मिस इन्डिया ऐश्वर्या रायले पनि मिस वल्र्ड जितेकी थिइन् । यस्तै, भारतीय सुन्दरीहरू युक्ता मुखीले सन् १९९९ मा, डायना हेडेनले सन् १९९७मा र ऐश्वर्य रायले सन् १९९४ मा विश्व सुन्दरीको उपाधि जितेका थिए ।   विश्वभरिका सुन्दरीहरूका लागि एउटा सपना भएको मिस वल्र्ड प्रतियोगितामा विश्वभरका ११८ सुन्दरीले भाग लिएका थिए ।

नेपालको सहभागिता

मिस नेपाल २०१७ निकिता चान्डक भने मिस वल्र्ड प्रतियोगितामा ‘मल्टिमिडिया सेक्सन’तर्फ उत्कृष्ट ९ र ‘पिपुल्स च्वाइस अवार्ड’ तर्फ उत्कृष्ट १० भित्र पर्न सफल भएकी थिइन् । तर यी दुवै टाइटल मंगोलियाकी सुन्दरीले हात पारिन् । ‘ब्युटी विथ अ पर्पस’ मा भने निकिता उत्कृष्ट २० र ‘टप मोडल सेक्सन’ मा उत्कृष्ट ३० सम्म अटाएकी थिइन् । उनी मिस वल्र्डको उत्कृष्ट ४० को पहिलो राउन्डसम्म पुगिन् । सन् २०१२ मा मिस वल्र्ड मल्टिमिडिया टाइटल थपिएको थियो ।
सन् १९९७ देखि नेपाल औपचारिक रूपमा मिस वल्र्डमा सहभागी हुँदै आएको छ । यसअघि सन् २०११ की मिस नेपाल मलिना जोशी ब्युटी विथ प्रपोजको उत्कृष्ट १० मा परेकी थिइन् । त्यस्तै सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ मिस वल्र्ड उत्कृष्ट ३० मा छनोट भएकी थिइन् भने मल्टि मिडिया र ब्युटी विथ प्रपोजमा उत्कृष्ट १० भित्र परेकी थिइन् । सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले ब्युटी विथ पर्पोजको उपाधी जितेकी थिइन् । त्यसै वर्ष उनी मल्टीमिडिया अवार्डको सेकेन्ड रनरअप भएकी थिइन् ।

 

मिस वल्र्डको इतिहास

विश्व सुन्दरी प्रतियोगिता सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिता हो, जो अहिलेसम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ । यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१ मा सुरु गरिएको हो । सन् २००० मा उनको देहान्तपश्चात उनकी पत्नी जुलिया मोर्लेले प्रतियोगिता सम्हाल्दै आएकी छन् । मिस वल्र्डका संस्थापक एरिक मोर्ले सन् १९५१ मा फेस्टिभल अफ ब्रिटेनमा बिकिनी कन्टेस्टबाट सुरु गरेको प्रतियोगितालाई मिडियाले मिस वल्र्डको नामाकरण गरिदिएपछि औपचारिक रूपमा यसले ट्रेडमार्क पाएको थियो । बिकिनी कन्टेस्टबाट स्वीम सुट हुँदै गाउनसम्म आइपुगेको मिस वल्र्ड प्रतियोगिताको स्तर विश्वसामु बढ्दै गएपछि सहभागी सुन्दरीहरू बौद्धिक र व्यक्तित्वको धनी पनि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ ।

 

पहिले–पहिले सुन्दरी प्रतियोगिता जित्न सुन्दरता भएमात्र पुग्थ्यो । तर, अब समय र सन्दर्भ बदलिएकोले विश्व सुन्दरी बन्न ‘ब्युटी विथ ब्रेन’ अनिवार्य सर्त पनि हो । त्यसैले सुन्दरी प्रतियोगिता जित्न सुन्दर अनुहार भएर मात्र पुग्दैन । उसमा कतिको सुझबुझ छ, त्यसको पनि हेक्का राखिने गरिन्छ ।   विजेताहरूले विश्व सुन्दरी संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरी विभिन्न भ्रमणहरूमा एक वर्ष बिताउँछन् । परम्परागत रूपमा विजेताहरू आफ्नो कार्यकालभरि लण्डनमा नै बस्ने गर्दछन् ।