विश्वकप ट्रफीको आज बसन्तपुरमा सार्वजनिक गरिने

१२ कार्तिक २०७५, सोमबार ०९:४९

आईसीसी एक दिवसीय विश्वकप ट्रफीको नेपाल भ्रमणको अन्तिम दिन सोमबार काठमाडौ‌ंको बसन्तपुरमा सार्वजनिक गरिनेछ ।

विश्व भ्रमणमा रहेको ट्रफी सोमबार दिउँसो एक बजे बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसअघि आइतबार साँझ राष्ट्रपति भवनमा लगिएको थियो । शक्रबार नेपाल ल्याइएको ट्रफी त्यही दिन साँझ स्वयम्भूमा प्रदर्शन गरिएको थियो ।शनिबार पोखरा प्रिमियर लिग आयोजनास्थल पोखरा रंगशाला ताल बाराही मन्दिरमा प्रदर्शनी गरियो । त्यसपछि काठमाडौं ल्याइएको ट्रफी आइतबार चन्द्रागिरी र राष्ट्रपति भवनमा लगिएको थियो ।

सोमबार काठमाडौं दरवार क्षेत्रको बसन्तपुरमा लगिने छ ।तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । नेपालपछि यो ट्रफी भारत जानेछ ।भारतबाट न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनीहुँदै बेलायत लगिनेछ । यस क्रममा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।