विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, ललित बने १५ औं सदस्य

७ फाल्गुन २०७४, सोमबार ०७:५४

फागुन ७, काठमाडौं ।

विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

स्पिनर ललित नारायण राजवंशीले पनि राष्ट्रिय टोलीमा अटाएका छन् । यसअघि डिभिजन टुमा उनी वैकल्पिक खेलाडी थिए । उनी राष्ट्रिय टोलीका १५ औं सदस्य बनेका छन् ।


यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । विनोदसहित सिद्धान्त लोहनी, सुनिल धमला र किशोर महतो पनि वैकल्पिकमा परेका छन् ।

मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुनेछ । नेपाल समूह ‘बी’ मा रहेको छ ।

यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ ।

८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ ।

छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।