विश्वकपमा भएको चुम्बन प्रकरणको बहस : ‘केटीले केटालाई चुम्दा हिंसा हुँदैन ?’

२५ असार २०७५, सोमबार ०५:२४

असार २५, काठमाडौं ।

विश्वकप फुटबलको रिपोर्टिङमा रहेका बेला पत्रकारमाथि भएका चुम्बनका घटनालाई लिएर चीनमा सामाजिक सञ्जालमा बहस देखिएको छ ।

विश्वकपको प्रत्यक्ष प्रसारण गरिरहेका बेला धेरै महिला पत्रकारमाथि भएको चुम्बनलाई यौन हिंसाका रुपमा बहसमा ल्याइएको तर पुरुष पत्रकारमाथि भएको उस्तै घटनालाई सहज रुपमा लिइएको भन्दै बहस भइरहेको छ ।

विश्वकप फुटबलको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका बेला दक्षिण कोरियाली पत्रकारलाई रुसकी महिला समर्थकले गालामा गरेको चुम्बन ‘यौन हिंसा’ हुने कि नहुने भन्ने बहसमा विशेष गरी चिनियाहरु लागिरहेका छन् ।

दक्षिण कोरियाको टेलिभिजन च्यानल एमबीएनका पत्रकार जिउन ग्वाङ राइलले जुन २८ मा रुसबाट विश्वकपको रिपोर्टिङ गरिरहेका बेला एक रुसी महिला समर्थकले उनको गालामा दुईपटक चुम्बन गरेकी थिइन् ।

आफूलाई एक्कासी महिला समर्थकले चुम्बन गरेपछि ती पत्रकार हाँस्ने प्रयास गरेका थिए ।

तर, विश्वकपसम्बन्धी रिपोर्टिङकै बेला केही महिला पत्रकारमाथि भएका यस्तै घटनाको स्थिति भने फरक थियो । ती महिला पत्रकारले आफू अपमानित भएको र आफूमाथि हिंसा भएको महसुस गरेका थिए ।

एक महिला पत्रकारले त आफूलाई चुम्बन गर्ने व्यक्तिलाई नराम्ररी झपारेकी थिइन् । उनीमाथि भएको व्यवहार घृणित भएको भन्दै धेरैले विरोध पनि गरेका थिए ।

दुई फरक तर उस्तै घटनामा फरक प्रतिक्रिया आएपछि चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वीबोमा यसबारे वादविवाद सुरु भएको हो ।

चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताले महिला पत्रकारलाई चुम्बन गर्न चाहने पुरुष समर्थकको जस्तै गरी पुरुष पत्रकारलाई चुम्बन गर्ने महिला समर्थकको विरोध किन नभएको भन्दै बहस गरिरहेका छन् ।

‘यो किन यौन हिंसा होइन ? यसमा पनि पहिलेको घटनामा भएको जस्तै त देखिएको छ’ एक वीबो प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

‘यदि राम्री देखिने केटीले केटालाई चुम्बन गरिन् भने त्यो यौन हिंसा हुँदैन’ एकजनाले व्यङ्ग्यात्मक रुपमा लेखेका छन् ।

‘महिला र पुरुषका बारेमा समानताका लागि धेरै कुरा हुन्छन्, बहस हुन्छन् तर अझै समाज महिला र पुरुषका लागि समान छैन भन्ने कुराको उदाहरण हो यो’ अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

घटनाको विषयमा चीनमा धेरै बहस भइरहेको भए पनि दक्षिण कोरियामा भने यसबारे खासै कुराकानी भएको छैन । दक्षिण कोरियामा यसबारेको समाचार पनि एमबीएन र त्यससँग सम्बन्धित सञ्चार माध्यमले मात्रै बनाएका थिए ।