विश्वकपको वार्मअप म्याच रद्द

२३ जेष्ठ २०७५, बुधबार ०७:२८

जेठ २३, काठमाडौं । एजेन्सी

अर्जेन्टिनाले इजरायलविरुद्ध जेरुसेलममा शनिवार खेलिने भनिएको विश्वकपको वार्मअप म्याच रद्द गरेको छ ।

गाजामा प्यालेस्टाइनीहरूका विरुद्ध इजरायलको कारवाहीपछि राजनीतिक दबाब बढेपछि अर्जेन्टिनाले यो फैसला लिएको हो । अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिगुआनले म्याच रद्द भएको जानकारी दिएका हुन् ।

एक खेल च्यानललाई अन्तवार्ता दिँदै उनले भने, ‘अन्ततोगत्वा उनीहरूले सही निर्णय लिए ।’

दुई दिनअघि प्यालेस्टाइनी फूटबल फेडरेसनका प्रमुख जिब्रिल राजोबले अर्जेन्टिनाले जेरुसेलममा खेलेमा अरबीहरू अनि मुसलमान समर्थकहरूले लियोनेल मेस्सीका तस्वीर र जर्सी जलाइदिने धम्की दिएका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले म्याच रद्द नगराउनका लागि अर्जेन्टिनका राष्ट्रपति मौरिसियो म्याक्रीसँग कुराकानी गरेका छन् ।

अर्जेन्टिनाका परराष्ट्रमन्त्री जर्ज फौरीले म्याच रद्द गरेको पुष्टि त गरेनन् तर वाशिङटनमा भएको एक कार्यक्रममा भने, ‘राष्ट्रिय टोलीका खेलाडीहरू त्यहाँ खेल्न तयार थिएनन् ।’

अर्जेन्टिनाको निर्णयपछि गाजामा खुशीको लहर छाएको छ । पश्चिमी किनाराको रमल्लाहमा प्यालेस्टाइन फूटबल एसोसिएसनले एक बयान जारी गरेर म्याच रद्द गरेकोमा मेस्सी र अन्य खेलाडीप्रति आभार व्यक्त गरेको छ ।

प्यालेस्टाइन फूटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजोबले भने, ‘मूल्य, नैतिकता र खेल भावनाको विजय भएको छ । अर्जेन्टिनाले खेल रद्द गरेर इजरायललाई रातो कार्ड देखाएको छ ।’

राजोब लामो समयदेखि फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई इजरायलमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

यसअघि प्यालेस्टाइनका बालबालिकाले पनि मेस्सीलाई पत्र लेखेर इजरायलमा आफ्ना पूर्वजहरूको चिहानमाथि नखेल्न अनुरोध गरेका थिए ।