विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा

२५ बैशाख २०७५, मंगलवार १०:२०

वैशाख २५, काठमाडौं ।

पर्साको पोखरीयामा रहेको पोखरीया अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् ।

अस्पतालमा नवौं अथवा दशौं तहका एक जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नखटाइएका कारण सेवा प्रदान गर्न समस्या भएको हो ।

भौतिक पूर्वाधारयुक्त भएपनि राम्रो स्वास्थ्य सेवा नपाएका कारण सर्वसाधरण पोखरीया अस्पतालमा उपचार गराउन खासै रुचाउँदैनन् । त्यसमाथि दरबन्दी अनुसारको पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा उपचारमा समस्या हुने गरेको छ ।

पछिल्लो समयमा अस्पतालमा करारका ३ र मन्त्रालयका दुई गरी पाँच जना चिकित्सक अस्पतालमा छन् ।

चिकित्सकलाई समेत सल्लाह दिने विशेषज्ञ चिकित्सक, सहयोग गर्ने नर्सिङ स्टाफहरुको भने कमी छ । यसले गर्दा सोचे अनुसारको सेवा दिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवले जानकारी दिए । ‘अहिले अस्पतालमा मेडिकल अफिसरको रुपमा ५ जना डाक्टरहरु त छौं, सातौं वा आठौं तहको नर्सिङ अधिकृत हुनुहुन्न, त्यसैगरि ६ जना स्टाफ नर्सको दरबन्दी भएपनि तीन जना मात्रै कार्यरत हुनुहुन्छ,’ उनले भने ‘ त्यसमाथि नवौं वा दशौं तहको एक जना विशेषज्ञ चिकित्सक हुनुपर्ने त्यो पनि छैन । त्यसले गर्दा हामी सोचे अनुसारको सेवा दिन सकिरहेका छैनौं । जनरल प्राक्टिस भएका एमडीजीपी विशेषज्ञ डाक्टर भए राम्रो हुन्थ्यो ।’

पर्सा जिल्लाको मध्य भागमा पर्ने र जिल्लाको धेरै ग्रामीण क्षेत्रका लागि पायक पर्ने १५ बेडको पोखरीया अस्पतालमको ओपीडिमा दैनिक १ सय जना जति बिरामीहरु आउने गरेका छन् । ‘तीन वटा ओपीडी चलाउँछौं चार जना डाक्टर बस्छौं । सामान्य अवस्थामा दैनिक १ सय को हाराहारीमा विरामीहरु उपचारका लागि आउँछन् । सिजनमा विरामीको संख्या अलि बढी हुन्छ ,’ मेसु यादवले भने ‘प्रसुती गराउन पनि आउँछन्, नर्मल छ भने सुपरभिजनमा राखेर डेलीभरी गराउने गरेका छौं । शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने बाहिर पठाउँछौं ।’

तर, स्थानीयका अनुसार अस्पतालमा चिकित्सकहरु नबस्ने गरेका कारण उपचारका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यता छ ।