विराटनगरको चिया पसलमा प्रचण्ड-माधव पक्षको तोडफोड

२२ माघ २०७७, बिहीबार १५:२७

 

विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् ।

पूर्वमन्त्री एवं प्रचण्ड- नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए । चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए ।