विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेननः डा महत

१६ भाद्र २०७५, शनिबार १३:२१

 

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाइदा लिन नसकेको उनको आरोप छ ।

विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनको भनाइ छ ।

शनिबार भएको एक कार्यक्रममा बोल्दै डा महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालले विम्स्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले बताए । विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ ।

‘म्यानमार थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए । नेपालको सुरक्षा व्यवस्था सक्षम भएपनि सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ ।

फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रीय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले जानकारी दिए ।