विभिन्न घटनामा संलग्न अभियुक्तहरु पक्राउ

२९ भाद्र २०७४, बिहीबार ०३:०३

भदौ २९, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गत विभिन्न मिति र स्थानमा भएका घटनाहरुमा संलग्न अभियुक्तहरुलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोक नारायणगढमा सवारी जाँच गर्ने क्रममा ना.४० प ७७८ नम्बरको मोटरसाईकलका चालक नवलपरासीको गैंडाकोट नगरपालिका–१ का राजु भनिने खुमराज सापकोटालाई अवैध लागूऔषध डाइजेपाम ३७ एम्पुल, ब्युप्रिनर्फिन ३७ एम्पुल र फेनारगन ३७ एम्पुलसहित भदौ २६ गते प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवनकै भरतपुर महानगरपालिका–१० भरतपुर ओरालोमा रहेको थकाली भान्साघर तथा गेष्ट हाउसमा जुवा खेलीरहेको अवस्थामा जुवा खेल्न प्रयोग गरेको कौडा १६ थान, खेल्न प्रयोग हुने काठको चौकोस १ थान र नगद १२ लाख ३७ हजार ३ सय १० रुपैयाँ, अमेरिकी डलर १ सय र भारतीय रुपैयाँ ५० सहित जुवा खेल्ने, खेलाउने र हेर्ने समेत गरी २१ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवनकै माडी नगरपालिका–८ स्थित आफ्नै घरकोठाभित्र लगी ४ बर्षिया बालिकालाई २०७० माघ ११ गते ललाई फकाई जवरजस्ती करणी गरेको मुद्धाका फरार अभियुक्त ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई उनकै घर ठेगानाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवनकै भरतपुर महानगरपालिका–९ बसपार्कस्थित थापा गेष्टहाउसमा महिलाहरु राखी बेश्याबृतीमा लगाउने गरेको भन्ने सूचनाको आधारमा भदौ १९ गते खटिएको प्रहरीले जाँच गर्दा गेष्टहाउस संचालक चितवनको खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेकोले निजलाई प्रहरीले पक्राउ गरेको छ । साथै निज थापाले आफुहरुलाई भदौ ९ गतेदेखि १५ गतेसम्म होटलमा राखी बेश्याबृतीमा लगाएको भन्दै २ जना पीडित महिलाले जाहेरी दरखास्त पेस गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैगरी करीव २० दिन अगाडि ७ बर्षीय र भदौ २६ गते ४ बर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने कार्यमा संलग्न चितवनकै भरतपुर महानगरपालिका–१ देवघाटका २२ वर्षीय विवेक खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने २० वर्षीया सुजता बराल घिमिरे भदौ १८ गतेदेखि सम्पर्कमा नआएपछि खोजी गर्नेक्रममा सोही महानगरपालिका–२३ सितलपानीस्थित खेतकुलोमा हत्या गरी बोरामा हाली फालेको अवस्थामा भदौ २२ गते उनको शव फेला परेको घटनामा संलग्न अभियुक्त सोही ठाउँ बस्ने १७ वर्षीय तिलक नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवनकै भरतपुर महानगरपालिका–९ बसपार्कमा सर्वसाधारणलाई धम्क्याई डरत्रासमा पारी आतंक मच्चाउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल पोखरेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ अभियुक्तहरुका सम्बन्धमा थप आवश्यक अनुसन्धान कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ