विप्लवका नेता खोज्न प्रहरी खटियो

५ मंसिर २०७४, मंगलवार ०१:५३

मंसिर ५, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बनाएको छ।

कात्तिक २४ गतेबाट विप्लव समूहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु गरेको थियो। दर्जनबढी स्थानमा उम्मेदवारको ज्यानै लिनेगरी बम प्रहारको घटना भएपनि सुरक्षा परिचालन सुस्त थियो। सामान्य घरेलु बम विस्फोटसँगै शक्तिशली धराप नै थाप्न थालेपछि गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निकायले खोजी र पक्राउको क्रम बढाएको हो। विप्लव समूहले विस्फोट गराएमध्ये नुवाकोटमा कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार रामशरण महतलाई लक्षित गरी पड्काएको धराप सबैभन्दा शक्तिशाली देखिएको छ।

नुवाकोटको घटनापछि उम्मेदवारको हत्या योजनासहित आक्रमणमा उत्रँदा सुरक्षा निकाय निरिह देखिएको भन्दै आलोचना बढेको थियो। रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाइते भएका थिए। सो घटना कसले गराएको हो, सुरक्षा निकायले खुट्याउन सकेको छैन। कात्तिक २६ बाट उम्मेदवार केन्द्रित आक्रमण गर्न सबै जिल्लामा विप्लवले परिपत्र गरेको पत्र सुरक्षा निकायले फेला पारे पनि घटनामा संलग्न समूह पक्राउ गर्न सुस्त देखिएको थियो। उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेपछि दबाबमा आएको गृह प्रशासनले विप्लवले समूहका नेता कार्यकर्ता पक्राउका लागि प्रहरीलाई निर्देशन दिएको छ भने उम्मेदवारको सुरक्षामा सशस्त्र प्रहरीको संख्या बढाएको छ। सोमबारबाट पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा नेपाली सेनाले पैदल गस्ती बढाएको छ। जानकार स्रोतका अनुसार विप्लवसहित केन्दीय तहका नेताको खोजीमा प्रहरी प्रधान कार्यालयले केन्द्रको विशेष टोली खटाएको छ भने जिल्ला प्रहरी कार्यालयलाई तोकेको छ। नागरिक दैनिक