विद्यालय तहको पाठ्यक्रममा बौद्ध शिक्षा समावेश

३० जेष्ठ २०७५, बुधबार १०:४०

जेठ ३०, काठमाडौं ।

गौतमबुद्धको मावली देवदहमा नगरपालिकाले विद्यालय तहको पाठ्यक्रममा बौद्ध शिक्षालाई समावेश गरेको छ ।

देवदह नगरपालिकाले कक्षा ६ र ७ को पाठ्यक्रममा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक ६० अंकको पाठ्यभार र ४० पूर्णाङ्कको बौद्ध शिक्षा समावेश गरेको हो ।

नेपाली र अंग्रेजी दुवै माध्यममा तयार पारिएको पाठ्यपुस्तक बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विमोचन गरे । यी पाठ्यक्रम अब देवदह नगरपालिकाका सामुदायिक र संस्थागत सबै विद्यालयमा अनिवार्य रुपमा लागू हुनेछ ।

पुस्तक विमोचन गर्दै मन्त्री बरालले स्थानीय पाठ्यक्रम बन्नु र पढाइ हुनुले संघीयता कार्यान्वयनलाई सहज हुने बताए । उनले बुद्धको मावलीबाट शुरु भएको यो अभियान अब प्रदेश र देशभरीका स्थानीय तहले प्रेरणा लिन सक्ने बताए ।

स्थानीय तहहरुमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको संभवतः देवदह पहिलो भएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताए ।

पाठ्यक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भटराईले देवदह नगरपालिका बनेसंगै स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमको अवधारणा नगर परिषदले पारित गरेर अगाडि बढेको स्मरण गर्दै २०७६ सालसम्म यो पाठ्यक्रम परीक्षणको रुपमा लागू हुने बताए ।

त्यसपछि परिमार्जन गरी पूर्णरुपमा लागू गरिनेछ । पुस्तक विमोचन कार्यक्रममा सामुदायिक विद्यालय सञ्जालका संयोजक दुर्गा आचार्य, संस्थागत विद्यालयका तर्फबाट कृष्ण पौडेललगायतले स्थानीय पाठ्यक्रमले देवदहको परिचय र बौद्ध शिक्षामार्फत चरित्रवान नागरिक उत्पादन हुने अविश्वास व्यक्त गरे ।