विदेशबाट फर्किएर ऋण माग्न बैंक पुगेका युवाको गुनासो – ‘सरकारले झुक्यायो’

२६ बैशाख २०७६, बिहीबार १९:०२

काठमाण्डौ – राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने भनेको सहुलियत कर्जा लिन कठिनाइ भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम सञ्चालनका लागि सहुलियत कर्जा दिने भनेको भए पनि कर्जा लिन भने कठिनाई भएको उदयपुर कटारी नगरपालिका १ का युवा सुवास थापाले गुनासो गर्नुभयो ।

आफूले गाउँमा वेल्डिङ उद्योग सञ्चालन गर्ने भनेर बैंकमा कर्जा लिन गएको भए पनि कटारीमा रहेको बैंकका म्यानेजरले झर्केर आफूलाई फिर्ता पठाएको थापाले गुनासो गर्नुभयो ।

थापा वैदेशिक रोजगारीका क्रममा ७ महिना अघि मात्रै दुबईबाट फर्कनुभएको हो । २ वर्षसम्म दुबईमा वेल्डिङ्कै काम गरेकाले गाउँमा पनि त्यसैलाई उद्योगको रुपमा चलाउने सोच बनाएर बैंकबाट कर्जा लिन जाँदा उल्टै बैंकका म्यानेजरले झपारेर पठाएको उहाँले गुनासो गर्नुभयो ।

दुबई जानुअघि थापा थापा कतार र साउदीमा २/२ वर्ष वैदेशिक रोजगारीमा रहनुभएको थियो । कर्जा पाए देशमै केही गरौँ भन्ने सोच बनाएका थापा भन्नुहुन्छ, ‘ तीनवटा देश गरेर ६ वर्ष विदेशमै बिताइसकें । अब गाउँमा नै बसेर वेल्डिङ उद्योग सञ्चालन गर्ने सोच बनाएको थिएँ । त्यसका लागि चाहिने कर्जा बैंकबाट नपाउँदा फेरि विदेशमै फर्कौँ झैँ लागेको छ ।’

विदेशबाट फर्केकालाई सरकारले सहुलियत कर्जा दिने भनेको सुनेर थापा पनि गाउँ नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुग्नुभएको थियो । तर बैंकका शाखा प्रमुखले कहिले कात्तिकमा आउनु, कहिले मंसिरमा आउनु भनेर झुलाएको उहाँको गुनासो छ ।

वाणिज्य बैंकले सरकारी नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार विनाधितो विदेशबाट फर्केका युवालाई सहुलियत कर्जा दिने गएको पुषमा नै घोषणा गरेको थियो । तर कर्जा लिन जाने युवालाई जग्गाको लालपूर्जा चाहिने भन्दै बैंकले फर्काउने गरेको थापा बताउनुहुन्छ ।

‘घर, जग्गा भएको भए किन कर्जा लिन जानुपर्थ्याे र ? त्यही बेचेर भए पनि काम गर्ने थिएँ नि’, उहाँले भन्नुभयो, ‘धितो राख्ने केही नभएकाले सरकारले बिनाधितो सहुलियत कर्जा दिने भनेको सुनेपछि बैंक पुगेको हुँ ।’

पाँच महिनादेखि बैंक धाउँदा पनि आफूले कर्जा पाउने नसकेको उहाँले बताउनुभयो । बैंकबाट आठ दश लाख कर्जा लिएर वेल्डिङ उद्योग सञ्चालन गर्ने सोचेर नै कर्जाको लागि आफू बैंक धाइरहेको उहाँले बताउनुभयो । सहुलियत कर्जा दिने भनेर झण्झट मात्रै थोपर्ने गरी युवाहरुलाई सरकारले झुक्याउने काम गरेको भन्दै उहाँ आक्रोश पोख्नुहुन्छ ।

यता राष्ट्रिय बाणिज्य बैंक कटारी शाखाका म्यानेजर उमापति बास्तोलाले भने आफूहरुले कर्जाका लागि समय समयमा आवेदन आह्वान गर्ने गरेको र त्यो समयमा आएका आवेदनहरु केन्द्रीय कार्यालयमा पठाउने काम गरेको बताउनुभयो ।

अहिलेसम्म झण्डै २ सय ५८ वटा आवेदन संकलन गरेर केन्द्रीय कार्यालय पठाइएको पनि उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा कम्तिमा ६ महिना काम गरेर फर्केको ३ वर्ष ननाघेकाले विनाधितो सहुलियत कर्जा लिन सक्ने पनि उहाँले बताउनुभयो ।

यसरी बैदेशिक रोजगारीबाट फर्केकाहरुले पासपोर्ट, नागरिकता र परिवारका व्यक्तिको नागरिकतासहित गर्न खोजेको परियोजनाको कागजातसहित आवेदन दिए बैंकले आवश्यक प्रकृया पूरा गरेर कर्जा उपलब्ध गराउने बास्तोलाले बताउनुभयो ।

१० लाखसम्मको सहुलियत कर्जा लिनका लागि साधारण परियोजना बैंकमा बुझाउनु आवश्यक रहेको वाणिज्य बैंकले स्पष्ट पारेको छ ।

परियोजनाको बीमा गराउनुपर्नेको हकमा बीमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा दिइने पनि उसले जनाएको छ । यसरी लिइएको कर्जाको अवधि बढीमा ५ वर्षका लागि हुनेछ । बैंकले एकै पटक नभई किस्ताबन्दीमा कर्जा उपलब्ध गराउने पनि स्पष्ट पारेको छ ।