विजयपुर दरवारमा पानी ट्यांकी नबनाउन युकेबासीको माग

२० माघ २०७४, शनिबार ०४:५६

माघ २०, काठमाडौं ।

लण्डनमा बसोबासरत किराँतीहरुले धरानको विजयपुर दरवार परिसरमा पानी ट्यांकी बनाउन लागिएकोप्रति किराँत याक्थुङ चुम्लुङ युकेले ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाका अध्यक्ष दिल सिं मेन्याङवो र महासचिव गणेश ईजमले बिज्ञप्ति जारी गरी पिउने पानीको ट्यांकी बन्नु नकारात्मक नभए पनि निर्माण गरिने क्षेत्रको छनौटले अदिवासी जनजातिको इतिहास र पहिचानको प्रमाणहरु मास्नेमा शंका व्यक्त गरेका छन् ।


बिज्ञप्तिमा विजयपुर दरवार परिसरको संरक्षण गर्दै पानी ट्यांकी अन्य ठाउँमा निर्माण गर्न अपिल गरिएको छ ।

धरान उपमहानगरपालिकाले एकीकृत सहरी विकास परियोजना ९आईयूडीपी०अन्तर्गत ट्यांकी बनाउने निर्णय गरेपछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति आन्दोलित भएको छ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनालाई दरबार परिसरमा निर्माण कार्य नथाल्न गत कात्तिक ८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

गत वर्ष दरबार परिसरको मध्यभागमै आयोजनाले खानेपानी ट्यांकी निर्माण गर्न ११७ थान रूख कटान गरेपछि विवाद चुलिएको थियो ।

संघर्षरत पक्षको वार्ता समिति र उपमहानगरपालिकाबीच गत माघ ९ गते १८ बुँदे समझदारी सार्वजनिक गर्दै आयोजना अघि बढ्ने नगर प्रमुख तारा सुब्बाले जनाएका थिए ।