विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्छ नेता भण्डारी , ‘संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ , यादव

१३ कार्तिक २०७५, मंगलवार १७:३७

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको साक्षत्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् । भण्डारीले भने,‘संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।’


नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले नै परिवर्तनको अनुभुति हुन नसकेको भन्दै भण्डारीले राष्ट्रवादी नेता कोही नभएको बताए ।

नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने मात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।

‘संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ’यादवले भने ।
राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो ।