वायु प्रदूषण तथा रोकथाम योजनाको केस स्टडी; जोगियो ४४ हजार २४० जनाको ज्यान

२२ श्रावण २०७५, मंगलवार १५:३६

साउन २२, काठमाडौं । एजेन्सी

चीनको वायु प्रदूषण तथा रोकथाम योजना (२०१३–२०१७) को असरमाथि गरिएको अध्ययन काठमाडौं जस्ता प्रदूषणग्रस्त शहरका लागि महत्त्वपूर्ण दस्तावेज बन्न सक्छ ।

पेकिङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थले चीनको महत्त्वाकांक्षी योजनाको केस स्टडी गरेको छ । यो अध्ययनमा के पाइयो भने विगत पाँच वर्षमा चीनका ७४ महत्त्वपूर्ण शहरमा यो योजना लागू गर्दा पीएम २.५ के उत्सर्जनमा ३३ प्रतिशतसम्म कमी आयो ।

अनुसन्धानकर्ताहरूले पाँच वर्षभित्र पीएम १० को स्तरमा २७.८ प्रतिशत, सल्फर डाइअक्साइडमा ५४.१ प्रतिशत र काबैन मोनोअक्साइडमा २८.२ प्रतिशत कमी आयो । नाइट्रोजन डाइअक्साइड र ओजोनमा चाहिँ खासै फरक देखिएन ।

यो अध्ययनअनुसार, चीनमा प्रदूषणको कमी आउँदा त्यसले गराउने मृत्यु पनि घटेको छ । बेइजिङ–तियानजिन–हेबई क्षेत्र, याङ्से नदी डेल्टा क्षेत्र र पर्ल नदी डेल्टा क्षेत्रका ७४ शहरमा वायु प्रदूषणबाट हुनसक्ने मृत्युबाट ४४ हजार २४० जनाको ज्यान जोगियो ।

अध्ययनका उल्लेख भएअनुसार, चीनको वायु प्रदूषण नियन्त्रण नीतिले लामो समयमा स्वास्थ्यमा पर्ने राष्ट्रव्यापी असरको व्यापक मूल्यांकन गर्ने यो पहिलो अध्ययन हो । यसका अनुसार, चीनले निश्चित क्षेत्रमा हावाको गुणस्तर सुधार्नका लागि लक्ष्य निर्धारण गर्दै वायु गुणस्तर व्यवस्थापनका लागि १० वटा कार्ययोजना बनायो ।

चीनको वायु प्रदूषण रोकथाम तथा नियन्त्रण कार्य योजनालाई बेलायत र अमेरिकाको स्वच्छ वायु ऐन जस्तै बताइएको छ ।